न्यूज डेस्क | बैशाख १४, २०८३ सोमबार

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ३ स्थित गैडाटार जोड्ने चाँदी नदी माथि निर्माणाधीन चाँदी पुल लामो समयसम्म निर्माण सम्पन्न हुन नसकेपछि रौतहट क्षेत्र नम्बर ४ का सांसद गणेश पौडेलले निर्माण कार्य तत्काल तीव्र पार्न सम्बन्धित निकाय र ठेकेदार कम्पनीलाई कडा निर्देशन दिएका छन्।


आइतबार डिभिजन सडक कार्यालय चन्द्रनिगाहपुरमा पुगी सांसद पौडेलले डिभिजन सडक कार्यालयका प्रमुख अरुण कुमारलाल कर्ण तथा निर्माण कम्पनी पप्पु–शिवशंकर जेभीका सञ्चालक दयाराम साहलाई सँगै राखेर पुल निर्माणमा भइरहेको ढिलासुस्ती, प्राविधिक समस्या तथा काम अघि बढ्न नसक्नुका कारणबारे विस्तृत जानकारी लिएका थिए।



छलफलका क्रममा पटक–पटक म्याद थप गर्दा पनि पुल निर्माण सम्पन्न हुन नसकेको विषयप्रति सांसद पौडेलले गम्भीर असन्तुष्टि व्यक्त गरे। उनले समयमै पूर्वाधार निर्माण हुन नसक्दा स्थानीय नागरिकले भोग्नुपरेको सास्तीप्रति चिन्ता व्यक्त गर्दै जिम्मेवार पक्षले अब कुनै बहाना नबनाई काम सम्पन्न गर्नुपर्ने स्पष्ट चेतावनी दिए।



चाँदी नदीमा पुल नहुँदा विशेषगरी वर्षायाममा गैडाटार क्षेत्रका स्थानीयवासी आवतजावतमा ठूलो समस्या झेल्दै आएका छन्। नदीमा पानी बढ्नेबित्तिकै आवागमन पूर्ण रूपमा अवरुद्ध हुने अवस्था रहेको भन्दै सांसद पौडेल अनुगमनका क्रममा भावुक समेत बनेका थिए।

“गैडाटारका स्थानीयले भोगिरहेको दुःख मेरो आफ्नै पीडा हो,” भन्दै उनले ठेकेदार कम्पनीलाई आगामी दशैँ पर्वअघि नै पुल सञ्चालनमा ल्याउने गरी कामलाई तीव्र गतिमा अघि बढाउन निर्देशन दिएका छन्। जिम्मेवारीको काम समयमै गर्न नसक्ने, आलटाल र ढीलासुस्ती गर्दै लापारबाही गर्ने ठेकेदार कम्पनि प्रति सरकारले शुन्य सहनशीलताको निती लिएको स्मरण गराउदै स्थानियबासीको समस्यासंग गंभिर भएर लाग्न समेत सुझाएका छन् ।

करिब २५ करोड रुपैयाँ लागतमा निर्माण सुरु गरिएको उक्त पुलको शिलान्यास भएको झण्डै ११ वर्ष बितिसक्दा पनि निर्माण सम्पन्न हुन नसक्दा स्थानीयस्तरमा व्यापक असन्तुष्टि बढेको छ। लामो समयसम्म निर्माण अलपत्र पर्दा सरकारी बजेट, समय र जनअपेक्षा सबै प्रभावित भएको सांसद पौडेलले बताए।

डिभिजन सडक कार्यालयमा भएको छलफलपछि सांसद पौडेलले सम्बन्धित अधिकारी तथा ठेकेदारलाई साथमै लिएर पुल निर्माणस्थलको स्थलगत अनुगमन समेत गरेका थिए। अनुगमनका क्रममा उनले बर्खा सुरु हुनु अघि नै कम्तीमा आवतजावत सहज हुने व्यवस्था मिलाउन निर्देशन दिएका छन्।

अनुगमन कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी चन्द्रपुर नगर सभापति अरुण लामा, नगर सचिव मुकुन्द पौडेल, पार्टीका केन्द्रीय संगठन विभाग सदस्य उदयनारायण सापकोटा लगायत स्थानीय सरोकारवाला तथा पार्टी प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

दशक बित्दासमेत निर्माण सम्पन्न नभएको चाँदी पुलप्रति स्थानीयको आक्रोश बढिरहेका बेला सांसद गणेश पौडेलको सक्रियता र चेतावनीपछि अब निर्माण कार्यले गति लिने अपेक्षा गरिएको छ। स्थानीयवासीले भने यसपटक निर्देशन व्यवहारमै कार्यान्वयन भएर दशैँअघि पुल सञ्चालनमा आउने आशा व्यक्त गरेका छन्।