न्यूज डेस्क | बैशाख १३, २०८३ आइतबार
रौतहट । चन्द्रनिगाहपुर खानेपानी तथा सरसफाई उपभोक्ता समिति को छैटौँ साधारण सभा गणपूरक संख्या नपुगेपछि स्थगित गरिएको छ।
शनिबार संस्थाको प्राङ्गणमा आयोजित साधारण सभा संजय कुमार काफ्लेको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको थियो। कार्यक्रम समितिका अध्यक्ष किशोर प्रसाद उपाध्यायको सभाध्यक्षतामा सम्पन्न भएको थियो।
कार्यक्रममा समितिका सचिव अबदेशहरी भट्टराईले संस्थाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष बिनिता बख्रेलले लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गरेकी थिइन्।लेखापरीक्षण प्रतिवेदन प्रस्तुत भएपछि कार्यक्रममा उपस्थित उपभोक्ताहरूले प्रतिवेदन चित्तबुझ्दो नभएको भन्दै विरोध जनाएका थिए। उनीहरूले संस्थाले नियमित रूपमा वार्षिक साधारण सभा नगरेको, तीन वर्षपछि मात्र सभा बोलाइएको तथा चुनावी साधारण सभा आयोजना गरेर वर्तमान समिति जिम्मेवारीबाट पन्छिन खोजेको आरोप लगाए।
उपभोक्ताहरूले संस्थामा लामो समयदेखि लाखौँ रुपैयाँ बक्यौता रकम उठाउन नसकेको, वित्तीय पारदर्शिता अभाव रहेको तथा सेवा व्यवस्थापन प्रभावकारी नभएको भन्दै समितिको कार्यशैलीप्रति आक्रोश व्यक्त गरेका थिए।
कार्यक्रमस्थलमा अपेक्षित सदस्य उपस्थिति नहुँदा गणपूरक संख्या नपुगेको घोषणा गर्दै साधारण सभा स्थगित गरिएको थियो। अब नयाँ मिति तोकेर पुनः साधारण सभा आयोजना गरिने समितिले जनाएको छ।
साधारण सभा स्थगित भएसँगै संस्थाको आर्थिक पारदर्शिता, व्यवस्थापन क्षमता तथा उपभोक्ता विश्वास पुनःस्थापना गर्ने विषय अहिले स्थानीय तहमा बहसको विषय बनेको छ। उपभोक्ताहरूले आगामी साधारण सभामा स्पष्ट हिसाबकिताब र सुधारको ठोस योजना सार्वजनिक गर्नुपर्ने माग गरेका छन्। कार्यक्रमकै अवसरमा संस्थामा कार्यरत कर्मचारी अच्युत कोईराला लाई उत्कृष्ट कर्मचारीको रूपमा सम्मान गरिएको थियो।