न्यूज डेस्क | बैशाख ११, २०८३ शुक्रबार

 


रौतहट । चन्द्रनिगाहपुरमा उत्पादन हुँदै आएको ‘मुनड्रप्स’ नामक पिउने पानीमा पुनः अखाद्य पदार्थ भेटिएको घटनाले स्थानीय उपभोक्तामा चिन्ता र आक्रोश बढाएको छ। सिल गरिएको बोतलभित्रै अखाद्य वस्तु फेला परेको भन्दै उपभोक्ताहरूले उत्पादन कम्पनीको गुणस्तर र नियमन प्रक्रियामाथि गम्भीर प्रश्न उठाएका छन्।



स्थानीयका अनुसार मुन ड्रप्स बेभरेज इन्डस्ट्रिज प्रालि द्वारा उत्पादन गरिएको पानीमा यसअघि पनि पटक–पटक किरा, माकुरा, लेउ लगायतका अखाद्य पदार्थ भेटिने घटना सार्वजनिक हुँदै आएको छ। पछिल्लो घटनासँगै उक्त कम्पनीको पानीमा दूषित पदार्थ भेटिएको संख्या दर्जनौ पटक पुगेको दाबी गरिएको छ।



उपभोक्ताहरूका अनुसार सिलबन्दी गरिएको बोतलमै दूषित पदार्थ देखिनुले उत्पादन प्रक्रिया, पानी प्रशोधन प्रणाली तथा गुणस्तर परीक्षणप्रति गम्भीर शंका उत्पन्न भएको छ। खाद्य सुरक्षा मापदण्ड पालना नगरिँदा उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष जोखिम बढिरहेको उनीहरूको भनाइ छ।

स्थानीय उपभोक्ता भन्छन्, “बारम्बार यस्ता घटना दोहोरिँदा पनि कम्पनीमाथि प्रभावकारी कारबाही नहुँदा उपभोक्ता असुरक्षित महसुस गर्न बाध्य भएका छन्।”  

चन्द्रपुर नगरपालिका अन्तर्गतको नगर अनुगमन समितिले समेत उक्त कम्पनीलाई नियन्त्रणमा ल्याउन नसकेको भन्दै उपभोक्ताहरूले असन्तुष्टि जनाएका छन्। बारम्बार गुनासो आउँदा पनि ठोस कदम नचालिएको आरोप स्थानीयको छ।

उपभोक्ता हित संरक्षणका लागि सक्रिय हुनुपर्ने निकायहरू मौन देखिएको भन्दै उपभोक्ता हित मञ्च तथा नगरपालिका दुवैको भूमिकामाथि प्रश्न उठाइएको छ। नियामक निकायहरूको लाचार प्रवृत्तिका कारण प्रदूषित पानी उत्पादन गर्ने कम्पनीको मनोबल बढ्दै गएको स्थानीयको गुनासो छ।

स्थानीयवासीहरूले नगरपालिकाका केही कर्मचारीका आफन्त तथा नातेदारसँग पानी उद्योग सञ्चालकको सम्बन्ध रहेको भन्दै अनुगमन प्रक्रिया प्रभावित भएको आरोपसमेत लगाएका छन्। यही कारण प्रभावकारी कारबाही हुन नसकेको उनीहरूको दाबी छ। यद्यपि यस विषयमा सम्बन्धित निकायबाट आधिकारिक प्रतिक्रिया सार्वजनिक भइसकेको छैन।

घटनापछि उपभोक्ताहरूले तत्काल उद्योगको गुणस्तर परीक्षण, उत्पादन प्रक्रिया छानबिन तथा दोषी पाइए कडा कानुनी कारबाही गर्न माग गरेका छन्। खाद्य स्वच्छता तथा उपभोक्ता अधिकार सुनिश्चित गर्न सम्बन्धित सरकारी निकायले सक्रिय भूमिका निर्वाह गर्नुपर्ने उनीहरूको आग्रह छ।

चन्द्रपुर नगरपालिकाको लाचार प्रवृत्तिले गर्दा यहाँका उपभोक्ताको स्वास्थ्यमाथि दिनदहाडै खेलवाड हुँदै आइरहेको छ। नियमक निकायले कुनै पनि कारबाही नगर्दा यस्ता प्रदूषित पानी उत्पादक कम्पनीको पटकपटक मनोबल बढ्दै जानुका साथै झन पछिल्लो समय उक्त पानी उत्पादक कम्पनिले अधिकांश बोतलमा लेबल समेत नराखी बजारमा पठाउने गरेको खुलेको छ । 

पटक–पटक दूषित पानी भेटिँदा पनि कारबाही नहुँदा रौतहटका उपभोक्ताको स्वास्थ्यमाथि दिनदहाडै खेलवाड भइरहेको भन्दै स्थानीयस्तरमा व्यापक जनगुनासो बढिरहेको छ। अब नियामक निकायले कस्तो कदम चाल्छ भन्ने विषय सर्वसाधारणको चासोको केन्द्र बनेको छ।