न्यूज डेस्क | बैशाख १०, २०८३ बिहिबार

काठमाडौँ । संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाले सरकारले बल प्रयोग गरेर बस्ती हटाउने प्रयास गरे कडा प्रतिरोध गर्ने चेतावनी दिएको छ।


शंखमूलस्थित कार्यालयमा बिहीबार बसेको मोर्चाको बैठकले यस्तो निष्कर्ष निकालेको हो।



मोर्चाका उपाध्यक्ष पवन गुरुङका अनुसार सञ्चारमाध्यममा बस्ती हटाउने तयारीबारे समाचार आएपछि आकस्मिक रूपमा बैठक बोलाइएको थियो।



उनले बैठकमा सरकारको निर्णय आधिकारिक हो वा होइन भन्ने विषयमा प्रारम्भिक छलफल भएको बताए।

‘यदि सरकारको निर्णय औपचारिक हो र बल प्रयोग गरेर उठाउने प्रयास भयो भने हामी प्रतिरक्षाका लागि जे पनि गर्न तयार छौँ,’ उनले भने, ‘जसरी पनि प्रतिरोध गर्छौँ भन्ने धारणा बैठकमा व्यक्त भएको छ।’

यसअघि प्रधानमन्त्री बालेन्द्र शाहले सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गर्दै आउँदो शनिबार र आइतबारभित्र सुकुम्बासी बस्ती खाली गराउन निर्देशन दिएको हल्लाले ब्यापक रुप लिएको थियो ।

उक्त खवर सार्वजनिक भएसँगै सुकुम्बासी समुदाय र राज्यबीच तनाव बढ्ने संकेत देखिएको छ।