न्यूज डेस्क | बैशाख १४, २०८३ सोमबार

रौतहट । राष्ट्रिय स्वतन्त्र पार्टी रौतहट निर्वाचन क्षेत्र नं. ४ को समीक्षा बैठक गरुडा स्थित अनुज पार्टी प्यालेसमा  सोमबार  सम्पन्न भएको छ। भर्खरै सम्पन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै आयोजित बैठकले पार्टीको चुनावी गतिविधि, उपलब्धि तथा आगामी रणनीतिबारे विस्तृत समीक्षा गरेको जनाएको छ।


बैठकले प्रतिनिधिसभा निर्वाचनमा भारी मतान्तरसहित विजयी भएका सांसद गणेश पौडेल लाई बधाई तथा शुभकामना व्यक्त गरेको थियो। सहभागी नेताहरूले निर्वाचन परिणामलाई संगठनको सामूहिक प्रयासको उपलब्धि भएको उल्लेख गर्दै आगामी दिनमा जनअपेक्षा अनुरूप काम गर्नुपर्ने धारणा राखेका थिए।



बैठकमा चुनावी अभियानका क्रममा पार्टीका केही जिम्मेवार पदाधिकारीबाट अप्रत्यक्ष रूपमा असहयोग भएको विषयसमेत उठाइएको थियो। केही सहभागीले त्यस्ता व्यक्तिमाथि कारबाही गर्न सुझाव दिए पनि हाल पार्टीले निर्वाचनमा सफलता हासिल गरेको अवस्थालाई मध्यनजर गर्दै उनीहरूलाई सुधारको अवसर दिने निर्णय गरिएको बताइएको छ। यसकारण तत्काल कारबाही प्रक्रिया अघि नबढाउने सहमति भएको पार्टी स्रोतले जनाएको छ।



जिल्ला सभापति प्रदिप साहको अध्यक्षतामा बसेको उक्त बैठकमा जिल्ला, प्रदेश, क्षेत्र, पालिका तथा वडा तहका जिम्मेवार पदाधिकारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। विगतका गतिविधिको समीक्षा, देखिएका कमजोरी सुधार तथा संगठन विस्तारलाई प्राथमिकता दिने विषयमा गम्भीर छलफल भएको जनाइएको छ।

बैठकले सांसद गणेश पौडेलको सचिवालय समन्वय तथा सम्पर्क व्यक्तिको जिम्मेवारी मुकुन्द पौडेल लाई प्रदान गर्ने निर्णय गरेको छ। उनी हाल रास्वपाको चन्द्रपुर नगर समितिका सचिव हुन्।

बैठकपछि प्रतिक्रिया दिँदै मुकुन्द पौडेलले निकट भविष्यमा पार्टी संगठनलाई अझ मजबुत बनाउने, जनतासँग प्रत्यक्ष सम्बन्ध विस्तार गर्ने तथा स्थानीय मुद्दामा सक्रिय भूमिका निर्वाह गर्ने लक्ष्यसहित बैठक सम्पन्न भएको बताए।

रास्वपाले रौतहट क्षेत्र नं. ४ मा संगठनात्मक गतिविधि थप सक्रिय बनाउँदै आगामी राजनीतिक कार्यक्रमहरू प्रभावकारी रूपमा सञ्चालन गर्ने तयारी गरेको जनाएको छ।