न्यूज डेस्क | बैशाख १४, २०८३ सोमबार

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले सरकारी ठेक्का प्रणाली नै ह्याक गरी कब्जामा लिएर अनियमितता गर्ने नौ जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ । सिआइबीले सार्वजनिक खरिद अनुगमन कार्यालय (पिपिएमओ) को विद्युतीय खरिद प्रणाली (इजिपी) मा अनधिकृत पहुँच गरी ठेक्कासम्बन्धी विवरण हेरफेरमा संलग्न रहेको आरोपमा उनीहरूलाई पक्राउ गरेको हो ।


सिआइबीका प्रवक्ता शिवकुमार श्रेष्ठका अनुसार ब्युरोले ‘क’ वर्गका निर्माण व्यवसायीसहित तीन जनालाई सङ्गठित अपराध निवारण ऐन अन्तर्गत पक्राउ गरी अनुसन्धान सुरु गरिएको बताए । पक्राउ पर्नेमा कालिका कन्स्ट्रक्सनका अध्यक्ष विक्रम पाण्डे, भीषण कन्स्ट्रक्सनका सञ्चालक टङ्ककुमार श्रेष्ठ र चपुर निर्माण सेवाका सञ्चालक अमृत बोहोरा, कल्पवृक्ष बिल्डर्स प्रालिका सञ्चालक प्रकाश ढुङ्गाना, इन्कोन प्रालिका स्वदेश पोखरेललगायत रहेको प्रहरीले जनाएको छ । यसअघि इजिपी प्रणाली ह्याक गरी ठेक्काका आर्थिक प्रस्तावसम्बन्धी कागजात हेरफेर गरेको आरोपमा अन्य चार जना पनि पक्राउ परेका थिए ।



उक्त घटनाको अनुसन्धानका क्रममा सिआइबीले पाण्डे, श्रेष्ठ र बोहोरालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको हो । पूर्वमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता पाण्डेलाई यसै प्रकरणको अनुसन्धानका लागि सिआइबीले गत शुक्रबार काठमाडौंबाट पक्राउ गरेको थियो । पाण्डेसहित पक्राउ परेका ठेकेदारले आफू अनुकूलको ठेक्का पार्ने प्रयासका क्रममा ई–बिडिङको वेबसाइट ह्याक गरेको आरोप छ । पाण्डे विसं २०७९ को प्रतिनिधि सभा निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका थिए ।



पाण्डेविरुद्ध २०७५ सालमा सिक्टा सिँचाइ आयोजनामा गुणस्तरहीन काम गरेको ठहरसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो । सोही मुद्दामा पाण्डे चार करोड रुपियाँ धरौटी बुझाएर रिहा भए पनि मुद्दा विचाराधीन छ । सिआइबीको अनुसन्धानमा यी ‘क’ वर्गका ठेकेदारले ह्याकरहरू प्रयोग गरी सरकारी ठेक्का, आर्थिक बोलपत्र प्रस्ताव खोल्नुअघि नै कागजात परिवर्तन गरी ठेक्का प्रभावित पार्ने कार्य गरेको पाइएको खुलेको छ ।

ब्युरोले यस घटनामा विद्युतीय कारोबार ऐन तथा सङ्गठित अपराध निवारण ऐन अन्तर्गत अनुसन्धान भइरहेको छ । सरकारले सार्वजनिक खरिद प्रक्रिया पारदर्शी बनाउन इजिपी प्रणाली लागु गरेको भए पनि पछिल्लो घटनाले यसको सुरक्षामाथि प्रश्न उठाएको छ ।