न्यूज डेस्क | बैशाख ८, २०८३ मंगलबार
रौतहट । वृन्दावन नगरपालिका मा नगरपालिकाले डोजर चलाएर घर भत्काएपछि घरबारविहीन बनेका दुई परिवारलाई राहत उपलब्ध गराइएको छ। रौतहट क्षेत्र नम्बर–४ का सांसद गणेश पौडेल ले सोमबार पीडित परिवारलाई राहत सामग्री वितरण गरेका हुन्।
नगरपालिकाको डोजर कारबाहीपछि त्रिपालमुनि बस्न बाध्य भएका सैनुल नट र रामबिनय ठाकुरको परिवारलाई राहत लिएर सांसद पौडेल स्वयं विश्रामपुर पुगेका थिए। उनले खाद्यान्न, त्रिपाल, क्वीक रेस्क्यू किट तथा सरसफाइ सामग्री हस्तान्तरण गर्दै तत्कालीन मानवीय सहयोग प्रदान गरेका हुन्।
गत शुक्रबार नगरपालिकाले सो स्थानमा प्रशासनिक भवन निर्माण गर्ने योजना रहेको भन्दै ऐलानी जमिनमा बनेका संरचना हटाउने क्रममा डोजर प्रयोग गरेको थियो। उक्त कारबाहीका क्रममा वर्षौंदेखि बसोबास गर्दै आएका दुई परिवारको घर पूर्ण रूपमा भत्काइएको थियो।
पीडित परिवारले भने घर भत्काउने क्रममा आफूहरूलाई घरभित्र रहेको सामानसमेत सुरक्षित रूपमा निकाल्न नदिइएको आरोप लगाएका छन्। अचानक डोजर चलाइएकाले लत्ताकपडा, भाँडाकुँडा तथा दैनिक उपयोगका सामग्रीसमेत क्षति पुगेको उनीहरूको गुनासो छ।
राहत वितरणपछि सांसद पौडेलले मानवीय संवेदनशीलता ख्याल नगरी गरिएको कारबाहीले नागरिकलाई पीडा परेको उल्लेख गर्दै स्थानीय तहले विकास निर्माणका कार्य अघि बढाउँदा प्रभावित परिवारको वैकल्पिक व्यवस्थामा पनि ध्यान दिनुपर्ने बताए। उनले पीडित परिवारको पुनःस्थापना तथा दीर्घकालीन समाधानका लागि सम्बन्धित निकायसँग पहल गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।
नगरपालिकाको डोजर कारबाहीपछि बृन्दावन क्षेत्रमा मानवीय पक्ष, कानुनी प्रक्रिया तथा स्थानीय सरकारको निर्णय शैलीबारे बहस सुरु भएको छ। स्थानीयवासीहरूले सार्वजनिक संरचना निर्माण आवश्यक भए पनि नागरिकलाई बासविहीन बनाउने शैली स्वीकार्य नहुने बताएका छन्।

