न्यूज डेस्क | बैशाख ६, २०८३ आइतबार
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज दिउँसो बस्ने भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा दिउँसो ३:३० बजे बस्ने गरी तय भएको हो ।
बैठकमा पार्टीका विभिन्न आन्तरिक तथा साङ्गठनिक विषयहरूमा छलफल गर्न आधा दर्जनभन्दा बढी एजेन्डाहरू तय गरिएको पार्टीका प्रवक्ता मनिष झाले जानकारी दिए । उनका अनुसार आजको बैठकमा विशेष गरी पार्टीको आगामी महाधिवेशन, साङ्गठनिक सुदृढीकरण र प्रशासनिक व्यवस्थापनका विषयमा महत्त्वपूर्ण छलफल हुनेछ।
बैठकका एजेन्डाहरूमा जिल्ला अधिवेशनको कार्यविधि तय गर्ने, पार्टीको बैंक खाता सञ्चालन, केन्द्रीय आयोग, सल्लाहकार परिषद्, संघीय नेतृत्व मञ्च र विभिन्न विभागहरूमा मनोनयन गर्ने, पार्टीका आगामी कार्यक्रम र रणनीतिका लागि नयाँ योजनाहरू आह्वान गर्ने रहेका छन् ।
यस्तै बैठकमा प्रतिनिधिसभा सदस्य (सांसद) हरूको साङ्गठनिक जिम्मेवारी बाँडफाँट, केन्द्रीय समितिको आगामी बैठकको तयारी, संसदीय दलका लागि आवश्यक प्राविधिक सहायता र सांसदहरूले पार्टीलाई बुझाउनुपर्ने लेबीका सम्बन्धमा छलफल हुनेछ ।