न्यूज डेस्क | जेठ २३, २०८३ शनिबार
रौतहट। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रौतहटको प्रथम जिल्ला अधिवेशन आज शनिबार गरुडा स्थित होटल एएन प्लाजामा सम्पन्न हुँदैछ। अधिवेशनसँगै जिल्लाको नयाँ नेतृत्व चयनको विषयले पार्टीभित्र व्यापक चर्चा पाएको छ।
अधिवेशनमा पार्टीको जिल्ला सभापति पदका लागि अनुभवी नेता अजय कुमार साहको उम्मेदवारी सशक्त रूपमा अघि बढ्ने आकलन गरिएको छ। जिल्लाभरका नेता–कार्यकर्ताबीच पार्टीलाई समावेशी ढंगले अघि बढाउन सक्ने, सबै भूगोल र समुदायलाई समेट्न सक्ने तथा संगठनभित्र देखिएका विवादहरूलाई व्यवस्थापन गर्न सक्ने नेतृत्वको आवश्यकता रहेको चर्चा भइरहेको छ। यही सन्दर्भमा अजय साहलाई जिल्ला सभापतिको उम्मेदवार बनाएर अघि बढ्नुपर्ने धारणा अधिकांश नेता तथा कार्यकर्ताहरूले व्यक्त गरिरहेका छन्।
रास्वपाका निवर्तमान जिल्ला सभापति प्रदीप साह र अजय कुमार साहबीच जिल्ला नेतृत्वका लागि प्रतिस्पर्धा हुने सम्भावना देखिएको छ। विगतमा पार्टीको नेतृत्व सम्हालिसकेका प्रदीप साहको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै नेतृत्व परिवर्तनको आवाज पार्टीभित्र उठिरहेको बताइन्छ।
यही पृष्ठभूमिमा अजय साहको उम्मेदवारीले रास्वपा रौतहटको राजनीतिमा नयाँ तरंग ल्याएको छ। पार्टीभित्र लामो समयदेखि देखिएका आन्तरिक मतभेद, समूहगत विवाद तथा संगठन विस्तारका चुनौतीहरूलाई समाधान गर्न सक्ने नेतृत्वको खोजी भइरहेको बेला अजय साहलाई एक वैकल्पिक र एकताबद्ध नेतृत्वका रूपमा हेरिएको छ।
पार्टी समायोजनको मूल मर्मलाई स्थापित गर्दै सबै पक्षलाई समेटेर संगठनलाई मजबुत बनाउने लक्ष्यका साथ आफू चुनावी मैदानमा उत्रिएको अजय साहले बताएका छन्। "पार्टीभित्र देखिएका मतभेद अन्त्य गर्दै सबैलाई साथमा लिएर संगठनलाई बलियो बनाउनु अहिलेको आवश्यकता हो। मेरो उम्मेदवारी पनि यही उद्देश्यका लागि हो," साहले बताएका छन्।
विगतमा जिल्ला नेतृत्वको कार्यशैलीबाट असन्तुष्ट बनेका धेरै नेता तथा कार्यकर्ताहरू अजय साहको पक्षमा खुलेर लाग्ने संकेत देखिएको छ। पार्टीभित्र नयाँ सोच, समावेशी नेतृत्व र संगठनात्मक सुधारको अपेक्षा गरिरहेका कार्यकर्ताहरूले उनको उम्मेदवारीलाई सकारात्मक रूपमा लिएका छन्।
आजको अधिवेशनले रास्वपा रौतहटको आगामी राजनीतिक दिशा निर्धारण गर्ने अपेक्षा गरिएको छ। जिल्ला नेतृत्वमा को चयन हुन्छ भन्ने विषयले मात्र होइन, अधिवेशनबाट पार्टीले आन्तरिक एकता, संगठन विस्तार र आगामी निर्वाचन केन्द्रित रणनीति कस्तो बनाउँछ भन्ने विषयले पनि चासो पाएको छ।
रौतहटमा पछिल्लो समय रास्वपाको संगठन विस्तारको प्रयास तीव्र बनेको छ। यस्तो अवस्थामा प्रथम जिल्ला अधिवेशनबाट चयन हुने नेतृत्वले पार्टीको भविष्य निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने राजनीतिक विश्लेषकहरूको भनाइ छ।