न्यूज डेस्क | बैशाख ४, २०८३ शुक्रबार

रौतहट जिल्लाको फतुवा विजयपुर नगरपालिकामा चरम बेथिति, अपारदर्शिता एबम् भ्रष्टाचार मौलाएको आरोप लगाउँदै स्थानीयवासीहरूले आन्दोलन सुरु गरेका छन् । नगरपालिकाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै बिहीबार स्थानीयहरूले दलबल सहित नगरपालिका कार्यालय घेराउ गर्दै विरोध प्रदर्शन गरेका हुन् ।


बिजयपुरका स्थानीय शिवपुजन यादवको नेतृत्वमा नगरपालिका पुगेका आन्दोलनकारीहरूले विभिन्न नारा लेखिएका प्लेकार्ड बोकी नाराबाजी गरेका थिए । उनीहरूले नगरपालिकामा पारदर्शी प्रशासन सञ्चालन गर्न, नदीजन्य पदार्थको अवैध उत्खनन रोक्न तथा विगतदेखि बाँकी रहेको विद्युत महसुल तत्काल तिर्न माग गरेका छन् । बिधुत महशुल भुक्तानि नहुदा नगरपालिकाको लाईन प्राधिकरणले काटेका कारण सेवाग्राही मारमा परेका थिए । खानेपानीको समेत लाईन काटिदाँ पालिकाका सयौ घरधुरी खानेपानीबाट समेत बन्चित भएको भन्दै आन्दोलनमा आएकाहरु बताउछन् । 



बिगतमा नगरपालिकाले तिर्दै आएको साना किसानको महशुल, कृषि मिटरको महशुल, खानेपानी लगायतको महशुल नगरपालिकाका जनप्रतिनिधिका बिबादका कारण लामो समयदेखि भुक्तानी रोकिएको थियो ।  आन्दोलनका क्रममा सम्भावित झडपलाई मध्यनजर गर्दै नगरपालिकाले नेपाल प्रहरी र सशस्त्र प्रहरीको बाक्लो सुरक्षा व्यवस्था मिलाएको थियो । सुरक्षा निकायको उपस्थितिबीच आन्दोलनरत पक्ष र नगरपालिकाबीच वार्ता समेत भएको भएपनि निकास निश्कन नसक्दा माहौल झन तातिन पुग्यो । आन्दोलनरत पक्षका नेतृत्व गरेका शिवपुजन यादव र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद दाहाल बीच छलफल चलेको थियो । 
वार्तापछि प्रमुख प्रशासकीय अधिकृत दाहालले आन्दोलनकारीहरूले उठाएका माग समसामयिक र जायज रहेको स्वीकार गर्दै कार्यपालिका बैठक बोलाएर समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे ।



नगरपालिकाका निर्वाचित नगर प्रमुख गोपाल राय यादव भ्रष्टाचार मुद्दामा परी निलम्बनमा परेपछि उपप्रमुख अम्बेया खातुनले कार्यवाहक नगर प्रमुखको जिम्मेवारी सम्हाल्दै आएकी छन् । आन्दोलनरत पक्षले भने कार्यवाहक नगर प्रमुख खातुनले मनोपोली ढंगले योजनाहरू सञ्चालन गर्दै आएको, कोठे बैठकमार्फत निर्णय गरी योजनाहरू कागजमै सीमित गरिएको आरोप लगाएका छन् ।

यस विषयमा कार्यवाहक नगर प्रमुख खातुनले आन्दोलनकारीहरूको मागप्रति आफू सकारात्मक रहेको बताउँदै समस्याको समाधानका लागि छलफल गर्न तयार रहेको प्रतिक्रिया दिएकी छन् ।
नगरपालिकाको कार्यसम्पादनप्रति असन्तुष्ट स्थानीयहरूले सुशासन कायम गर्न आन्दोलन घोषणा गर्नुपरेको बताएका छन् । उनीहरूका अनुसार पालिका स्थापना भएको करिब नौ वर्ष बितिसक्दा पनि आफ्नै प्रशासनिक भवन निर्माण हुन सकेको छैन । हालसम्म भाडाको भवनबाट सेवा सञ्चालन भइरहँदा कमिसनको चलखेल भएको आशंका स्थानीयले व्यक्त गरेका छन् ।
त्यसैगरी विकास निर्माणका योजनाहरू प्रभावकारी रूपमा अगाडि नबढेको, विभिन्न सामग्री खरिदका नाममा जिन्सी शाखामा अनियमितता बढेको तथा सार्वजनिक स्रोत–साधनको दुरुपयोग भएको आरोप समेत स्थानीयले लगाएका हुन् ।

पटकपटक विवादमा पर्दै आएको फतुवा विजयपुर नगरपालिकामा पछिल्लो आन्दोलनले स्थानीय तहको सुशासन, पारदर्शिता र जवाफदेहितामाथि गम्भीर प्रश्न उठाएको छ । आन्दोलनकारीहरूले माग पूरा नभए थप सशक्त आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी समेत उनीहरुले दिएका छन् ।