प्राइम खबर संबाददाता | साउन २, २०७९ सोमबार

आज श्रावणको पहिलो सोमबार भगवान शिवको पूजा आराधना गरी हिन्दू धर्मावलम्बीहरुले व्रत बस्दै मनाउने प्रचलन रहि आएको छ । आजको दिनलाई विशेष रूपले हेर्ने गरिएको छ यस पटक श्रावण महिनामा पाँच वटा सोमबार परेकोले विशेष मानिएको हो । 


श्रावणको पहिलो सोमबार रौतहटका विभिन्न शिवालयहरु मध्येका शिरका महादेव भनेर प्रसिद्ध धार्मिक पर्यटकिय स्थल नुनथरमा गत वर्षहरूको तुलनामा निकै कम भक्तजनहरू दर्शनको लागि आएका हुन ।  अघिल्लो वर्ष कोरोना महामारीका कारण दर्शनार्थीको संख्यामा कमी आएको भएतापनि यसवर्ष भने अनुकूल समय रहेको अवस्थामा पनि अपेक्षा गरिएको भन्दा न्यून दर्शनार्थी आएको स्थानीय व्यापारी राम गिरीले बताए । आज पहिलो दिन भएकोले आउँदा दिनमा भक्तजनहरूको संख्यामा केही वृद्धि हुन सक्ने उनको भनाइ रहेको छ । 



नुन्थर पर्यटन क्षेत्र विकास समितिले त्यस क्षेत्रमा धार्मिक पर्यटन प्रर्वद्धनमा खासै काम गर्न नसकेको आरोप लागिरहेको बेला फोहर व्यवस्थापन र अव्यवस्थित पार्किङको समस्यालाई समेत समितिले समाधान गर्न तर्फ अग्रसर नदेखिएको स्थानीय रुपेश पण्डितले बताए। सो क्षेत्रमा चन्द्रपुर नगरपालिकाले आर्थिक वर्ष २०७९/८० को लागि भर्खरै मात्र  ठेक्का लगाएको छ ।