प्राइम खबर संबाददाता | असार ३१, २०७९ शुक्रबार
रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका वडा नम्वर १ नुनथर स्थित बागमती नदीमा डुबेर एकजना बेपत्ता भएका छन् । धनुषा जिल्लाको क्षिरेश्वर नगरपालिका–५ बाट आफ्ना परिवारका सदस्यहरुसँग शुक्रबार पिकनिक खान नुनथर आएका २० वर्षीय पारश यादव नदीमा डुबेर बेपत्ता भएका सशस्त्र प्रहरी वेश क्याम्प सन्तपुरका प्रमुख प्रहरी नायव उपरीक्षक योगराज दाहालले बताए ।
उनका अनुसार परिवार सहित पिकनिक खान आएका यादवसहित अन्य दुई जना पौडी खेल्न साझ साढे पाँच बजेतिर बागमती नदीमा छिरेका थिए । तीनजना मध्ये महाराजा जैसवार र अमर यादव भने नदीबाट पौडिएर बाहिर निस्कन सफल भएका थिए । सँगै गएका पारस भने नदीमा डुबेर वेपत्ता भएका थिए ।
वेपत्ता भएका पारसको खोजीका लागि घटनाको जानकारी पाउने बित्तिकै नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोलीले पुगी विभिन्न स्थानमा खोजी गरेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख सन्तुलाल प्रसाद जैसवारले जानकारी दिए । बेपत्ता रहेका युवकको शनिबार बिहानैदेखि पुनः खोजी कार्यमा जुट्ने प्रहरीले जनाएको छ।