प्राइम खबर संबाददाता | असार २४, २०७९ शुक्रबार
रौतहटको जिल्लाको चन्द्रपुर नगरपालिका वडा नं ६ मा पैनी सफाईको नाममा मनोमानी ढंगले डोजर लगाउँदा गरीब तथा एकल महिलाको घरमा क्षति एबम् खानेपानीको पाइप समेतमा क्षति पुग्दा शुद्ध खानेपानीको सुबिधाबाट समेत बन्चित भएको स्थानियहरुले गुनासो रहेको छ । विकाशको नाममा भएको विनाशको कर्तुत बारे जनस्तरबाटै विरोध चुलिँदो रहेको छ । माओवादी केन्द्र पार्टीबाट निर्वाचित वडा अध्यक्षले छापामार शैलीमा राती सबै सुतेको बेला डोजर चलाएर राति बाटोको हत्ता (पैनी) सफाईको नाममा कालोपत्रे सडकलाई समेत क्षति पुग्नेगरी कटान तथा अतिक्रमण गर्दै कालोपत्रे मिचेर माटो खन्दा नालिको फोहर तथा माटो सडकमै थुपारेर राखेपछि अहिले स्थानीयहरुले चौतर्फी बिरोध गर्न थालेका छन् ।
उता सखुनेघारी टोलमा पैनी सफाईको नाममा बढी मात्रामा माटो खन्दा घरको जग समेतलाई नहेरी जथाभावी उत्खनन गर्दा घरको गारो समेत लडेर घरमा क्षति भएको पीडित एकल महिला पम्फा कुसुवार पहरीले दुखेसो पोख्दै भनिन् । उनी भन्छिन् “दुःख गरेर बनाएको घरमा क्षती पुगेको छ घरमा जोडिएको बाथरूम समेत लडेर गयो, घरमा कोही नभएको बेला डोजर चलाएका रहेछन् अहिले बिजोक छ म जस्तो एकल महिलाको कुरा कसले सुन्ने कसले पीडा बुझिदिने” भन्दै भक्कानिदै सुनाइन् ।
वडाका विभिन्न सडकहरुको छेउमा रहेका नाली तथा पैनी सफाईको नाममा उत्खनन गर्दा फोहर तथा नालीको फोहोरहरु सडकमा नै थुपारेर दुर्गन्धित एबम् सडक समेत फोहर बनाएको भन्दै स्थानीयहरुले विरोध गर्न थालेका हुन् । सफाईको क्रममा निस्किएका नालीको फोहर तथा माटो सडकलाई समेत कुरुप र फोहर हुनेगरी बाटोमा थुपारिएपछि वडाका नागरीकहरुले आवज उठाउन थालेका हुन् । आफ्नो आसेपासे र कार्यकर्ताहरु लिएर पैनी नाला खन्दै बिबादमा परेका वडा अध्यक्ष सहदेब केशिले आफ्नो वडा समितिसंग समेत समन्वय नै नगरी आफूखुशी मनलाग्दी डोजर चलाएर गरीबको घर नै भत्किए पछि झन् बिबादित बनेको सोही वडाका वडा सदस्य सन्नी राउतले बताए ।
निकासको नाममा मनोपोली रूपले जथाभावी डोजरले खन्दा खानेपानीको पाइपमा समेत क्षति भएको हुँदा उपभोक्ता समस्यामा परेका छन् । “ हप्तौं भइसक्यो खानेपानी अवरुद्ध भएको खानेपानी पिउन पाएका छैनौं , पानी जस्तो अत्यावस्यक कुराको क्षति पुर्याउँदा हामीजस्ता उपभोक्ताहरु पीडित भएका छौ” स्थानीय बलबहादुर श्रेष्ठले गुनासो सुनाए ।
वडा अध्यक्ष केसीको जनविरोधी कामको अहिले वडाबासीले चौतर्फी बिरोध गर्दै आएका छन् । वडामा रहेको सडक बाटो छेउको हत्ता सफाईको नाममा मध्य राती छापामार शैलीमा खन्ने काम गर्दा खानेपानीको पाइपहरु समेत छिनाईएको साता दिन बित्दा समेत यो गर्मी मौसममा खानेपानी जोड्ने कार्य नभएको हुँदा स्थानीय उपभोक्ता खानेपानीको सुविधाबाट वञ्चित भएको बताएका छन् ।
“बाटो छेउमा हत्ता खन्ने कार्य हुँदा सो स्थानमा खानेपानीको पाइप रहेको हुन्छ जथाभावी खन्दा पाइप फुट्ने र समस्या पैदा हुनसक्छ तसर्थ खानेपानीको कार्यालय सँग पनि समन्वय गरी नाला, हत्ता खनिनु पर्नेमा सो कुराको ख्याल गर्दै कार्यालयलाई जानकारी गराउनुपर्नेमा केही जानकारी नै नगराई अन्धधुन्न खन्दा उक्त पाइपमा क्षति पुगेको हो’’ चन्द्रनिगाहपुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिका सचिव राम बहादुर घलानले बताए ।
माओवादी पार्टीबाट जितेका वडा अध्यक्षको आफूलाई पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई सम्झदै डोजर लिएर खन्दै हिँडेका अध्यक्षको डोजर सेल्फी मोहले स्थानीयको घरको गारो नै लडेर विभत्स भएको स्थानिय पडितहरुको बुझाई रहेको छ । पहरीको घरको पूर्वपट्टि शौचालय जोडिएको गारो नै लड्नेगरी माटो कटान हुँदा अर्का लड़ाई वैठाको पनि उस्तै समस्या रहेको छ । वडाको बजार एरिया लगायतका अन्य स्थानका नाली तथा पैनीबाट निकालिएको फोहोरहरु बाटोमै थुपार्ने कार्यले सडक फोहर र दुर्गन्धित बनेको हुँदा यो वर्षातमा झाडापखाला एबम् हैजा जस्ता रोगको जोखिमको सम्भावना उत्तिकै रहेको हुँदा उक्त फोहरमैला एबम् अब्यबस्थित रुपले थुपारिएका फोहर मिसिएका माटोको ब्यबस्थापन गर्न सम्बन्धित निकायले कुनै चासो नदेखाएको स्थानीयहरु बताउँछन् । निर्वाचनमा तिनै जनताबाट प्राप्त मतको प्राप्त अभिमतको दुरुपयोग गर्दै बिना सूचना र जानकारी बेगर आफूखुशी उनीहरूमाथि बज्र स्वरूप डोजर चलाउने जनप्रतिनिधिहरुबाट कुनै खास उपलब्धिको आसा गर्नु ब्यर्थ रहेको स्थानिय युवा इशुलाल श्रेष्ठको भनाइ रहेको छ ।