प्राइम खबर संबाददाता | फागुन ३, २०७७ सोमबार
अवैध रुपमा डिजेल चोरी भारत तर्फ निकासी गर्ने ट्याङ्कर सहित मानिस पक्राउ परेका छन् ।
आईतबार पर्सा प्रहरीले ना.७ ख १५११ नं. को ट्याङ्करको च्याम्वरमा १००० लिटर र सोही ट्याङ्करको फ्युल ट्याङकमा ३६० लिटर गरी जम्मा १३६० लिटर डिजेल बिरगंज महानगरपालिका २२ जगरनाथपुर स्थित स्वेता आयल ट्रेडर्सबाट उक्त ट्याङ्करमा डिजेल भरी अवैध रुपमा चोरी निकासी गर्नको लागि ICP को मुल बाटो हुदै भारत तर्फ जादै गरेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले ICP को मुलगेटमा रोकी चेकजाँच गर्दा डिजेल तस्करी कार्यमा संलग्न तीनजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा मकवानपुर जिल्ला मनोहरी ३ का रामकृष्ण उप्रेती, मकवानपुर राकसीराग ३ का अशोक पाख्रिन तथा वीरगंज २२ घर भई बस्ने उक्त श्वेता आयल ट्रेडर्सका मुन्से सम्भु महत्तो रहेका छन् । पक्राउ परेका उप्रेती उक्त ट्याङ्कर का चालक हुन् भने पाख्रिन सहचालक रहेको प्रहरीले बताएको छ ।
उक्त डिजेल चोरी निकासीमा अभियुक्तहरुलाई पक्राउ गरी बरामद भएको ट्याङकर, डिजेल प्रहरीले नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा ल्याई थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।