प्राइम खबर संबाददाता | असार ३, २०७९ शुक्रबार

चन्द्रपुर नगरपालिकाको पहिलो बैठक शुक्रबार बस्ने भएको छ। भर्खरै सम्पन्न स्थानीय तह सदस्यको निर्वाचनमा विजयी भएका चन्द्रपुर नगरपालिकाका नव निर्वाचित कार्यपालिका सदस्यहरू आज पहिलो पटक कार्यपालिका बैठकमा सहभागी हुन लागेका हुन् ।


चन्द्रपुर नगरपलिकाका वडा अध्यक्षहरु समेत कार्यपालिकाको विषयगत समिति को संयोजक पदमा बस्न निकै कसिएर लागि परेको श्रोतले बताएको छ । शुक्रबार बस्ने पहिलो बैठकमा विभिन्न विषयगत समितिहरुको समेत टुंगो लगाइने योजना रहेको चन्द्रपुर नगरपालिकाका नगर प्रमुख सञ्जय कुमार काफ्लेले बताए ।



निवर्तमान मेयर रामचन्द्र चौधरीको कार्यकालमा विषयगत समितिको संयोजक पदमा वडा अधक्ष्यहरु बसेका थिएनन् । वडाको काममा आ- आफ्नो वडा कार्यालय मै बसेर जनताको काममा अधिकांस समय बिताउनुपर्ने भएको हुँदा विषयगत समितिको संयोजक भएपछि सबै वडाको प्रतिनिधित्व गर्दै धेरै व्यस्त हुनुपर्ने हुँदा वडाको काममा समय दिन नसकिने र सहज सेवा प्रभावित हुन सक्ने कुरालाई मध्यनजर गर्दै १० वटै वडाका अध्यक्षहरुले कार्यपालिका सदस्यको संयोजकत्वमा गठित विषयगत समितिको सदस्य बसेर सहयोग गरेका थिए ।

१० वटा वडा रहेको चन्द्रपुरमा ५ जना नेपाली कांग्रेसका,तीन जना माओवादी केन्द्रका र दुईजना नेकपा एमालेका वडा अध्यक्ष रहेका छन । २० सदस्यीय कार्यपालिका मेयर उप मेयर सहित नेपाली कांग्रेसका तर्फबाट १४ जाना सदस्य रहेका छन । वडा अध्यक्ष हरुको पदलोलुपताका कारण निर्वाचित कार्यपालिका सदस्यहरू कोरम पुर्याउने माध्यम मात्र बन्ने स्थिति पैदा हुन सक्ने आकलन सहज लगाउन सकिन्छ ।



नगरपालिकामा भौतिक पूर्वाधार, सामाजिक विकास,सुशासन, आर्थिक, विधान, विपद् व्यवस्थापन, राजस्व परामर्श सहित उपमेयरको संयोजकतवमा न्यायिक समिति गठन हुने प्रावधान रहेको छ । प्रत्येक समितिमा तीन सदस्यीय समिति गठन गर्नुपर्ने व्यवस्था स्थानीय सरकार सञ्चालन ऐनमा रहेको छ ।