प्राइम खबर संबाददाता | असार ३, २०७९ शुक्रबार
रौतहटमा पछिल्लो समय चन्द्रनिगाहपुर क्षेत्रमा रहेका बन अतिक्रमणको चपेटामा परेको छ । जिल्लाको रंगपुर साझेदारी बनमा विभिन्न सरकारी निकायबाट प्राप्त बजेट समयमा नै सक्न बनभित्र भवनहरू बन्दा समेत सम्बन्धित सरोकारवाला निकायहरु मौन बस्न थालेका छन् । मौन बस्नु कारण अन्य नभएर बन कार्यालयका कर्मचारीहरूकै मिलोमतोमा अतिक्रमण गरी निर्माण कार्य हुने गरेको खुलेको हो । बन कार्यालयका कर्मचारी समेत उपभोक्ता समितिबाट प्राप्त हुने कमिसनको लालचमा पारेर त्यस्ता संरचनाहरु बन अतिक्रमण गरेर बन्दा समेत आँखा चिम्लेर बस्ने गरेको स्थानीयहरु बताउँछन् ।
पछिल्लो समय जिल्लाको चन्द्रपुर नगरपालिका वडा नम्वर ६ स्थित रहेको डाबरी पर्यटन क्षेत्र जाने बाटोमा रहेको रंगपुर साझेदारी बन् उपभोक्ता समूहले काठ दाउरा संकलन गरेर घाट गद्दी गरेको स्थलसंगै बीच जंगलमा ठूलो चार कोठे पक्की भवन बन्दा समेत मुक दर्शक बनेर हेर्ने डिभिजन बन कार्यालयका निमित्त प्रमुख अमरदेव यादवको स्थानीय उपभोक्ता समितिसँग मिलोमतो रहेको बुझिएको हो ।
उक्त बन क्षेत्रमा विभिन्न सरकारी निकायबाट प्राप्त असारे बजेट सक्न विकास बजेटको नाममा वनको भूभाग प्रयोग गरी अतिक्रमण भएको हुँदा त्यसतर्फ जिम्मेवार निकायले ध्यान पटक्कै नदिएको स्थानीयहरु बताउँछन् । सो स्थानमा धमाधम बन्दै गरेको उक्त भवन न कुनै सरकारी कार्यालयको प्रयोजनका लागि बनेको न त कुनै संस्थागत कार्यालय केहीको लागि नभएको चन्द्रपुर नगरपालिकाका ओभरसियर अन्जन कुमार साहले बताए ।
मधेश प्रदेश सरकार र स्थानीय सरकार चन्द्रपुर नगरपालिका सहितको सहभागिता गरी ३० लाख लागतमा उक्त योजनाको भवन निर्माण शीर्षकको नाममा निर्माण कार्य गरेको उपभोक्ता समितिले निर्माण चरणमा नै पटक पटक गरी ५५ प्रतिशत भन्दा बढी रकम भुक्तानी लिईसकेको चन्द्रपुर वडा नम्बर ६ का प्रविधिक समेत रहेका ओभरसियर साहले जानकारी दिएका छन् ।
पहिलो सुरुवाती चरणमा जगको काम हुन लाग्दा बन कार्यालयका कर्मचारीले सो स्थानमा भवन बनाउन नमिल्ने भन्दै काम रोकेको भएपनि पछि बन कार्यालयले बेवास्ता गर्दा समितिले पेलेर काम गरेको हुँदा डिभिजन प्रमुखको मिलोमतोमा स्थानीय ठेकेदारबाट निर्माण कार्य भएको सहजै अनुमान लगाउन सकिन्छ ।
साझेदारी वनको क्षेत्रमा डाबरी जाने बाटोको नजिक घरको जग खन्ने कार्य भएको हुँदा उक्त स्थान वनको जग्गा भएको हुँदा कुनै संरचना बनाउन नमिल्ने भन्दै निर्माण कार्यमा रोक लगाएको डिभिजन बन कार्यालय रौतहटले पछि सेटिङ मिलाएर उक्त स्थानमा निर्माण गर्दा स्थानीयको आँखा सिधै पर्ने र विरोध हुनसक्ने भएको हुँदा अलि पछाडि पट्टि प्रत्यक्ष आँखा नपर्ने स्थानमा बनाउन अनुमति दिएको सोही समितिका एक सदस्यले जानकारी दिएका छन् ।
बन क्षेत्रमा अतिक्रमण गरी घर तथा टहरा बनाउनु बन ऐन विपरीत भएको जानकारहरु बताउँछन् तर रौतहटका डीएफओ जिल्लाको उत्तरी भेगमा अस्थायी टहरा हाली बसेका गरिबको घर भत्काएर बहादुरी देखाउन सक्ने तर डिभिजन बन कार्यालय देखि ७०० मीटरको दूरीमा रहेको स्थानमा बन अतिक्रमण गरी धमाधम बनाइएको आरसीसी भवन नदेखे झै टुलु टुलु हेरेर बस्नु निकै अर्थपूर्ण रहेको हुनसक्ने स्थानीयबसिको आरोप रहेको छ । उता चन्द्रपुर नगरपालिकाले भने उक्त भवनको उपभोक्ता समितिलाई चाँडो चाँडो भुक्तानी गराउन आतुर रहेको विशेष श्रोतबाट खुलेको छ ।