सन्तोष काफ्ले | चैत १३, २०७८ आइतबार

 रौतहट , स्थानीय तहको निर्वाचन आउन अब दुई महिना पनि बाँकी छैन । बैशाख ३० गते देशभरका सबै स्थानीय तहमा एकै चरणमा निर्वाचन गर्ने सरकारले निर्णय गरिसकेको छ । निर्वाचन आयोगले बैशाख १२ र १३ गते दुई दिन उम्मेदवार मनोनयनका लागि समय दिएको छ ।


स्थानीय तहको निर्वाचन नजिकिएसंगै चुनावी सरगर्मी पनि बढेको छ । दल अदलबदल पनि देशव्यापी रुपमा सबै जसो दलमा भइरहेको छ । स्थानीय तहमा जनप्रतिनिधि बन्न आकांक्षीहरुको दौडधुप सुरु भएको छ । आकांक्षी धेरै हुँदा दलहरुभित्र पनि उम्मेदवार चयनको विषय सहज छैन ।
सत्तागठबन्धनभित्र स्थानीय तह चुनावमा गठबन्धन गरेर जाने भन्ने विषयमा छलफल भइरहेको छ तर कुनै टुंगो भने लागिसकेको छैन । सरकारको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसले कम्यूनिष्ट पार्टीभित्र आएको विभाजनले स्थानीय देखि संघीय निर्वाचनसम्मम आफूलाई फाइदा पुग्ने आकलन गरिरहेको छ । २०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा चन्द्रपुर नगरपालिकाको प्रमुखमा (मेयर) नेपाली कांग्रेसले  र उपप्रमुख (उपमेयर) पदमा नेकपा एमाले विजयी भएको थियो ।
यसपटक पनि कांग्रेस चन्द्रपुर नगरपालिकामा जित दोहोर्यायाउन चाहन्छ । नेकपा एमालेभित्रको विभाजन, नेकपा माओवादी केन्द्र पनि कमजोर भएको अवस्थामा कांग्रेस उत्साहित देखिन्छ तर नगरपालिकाको मेयरका लागि आकांक्षी धेरै हुँदा उम्मेदवार चयन भने सजिलो देखिदैन ।
मधेश प्रदेशकै जिल्ला मध्ये रौतहट भएकाले पनि चन्द्रपुर  नगरपालिकाको मेयरको उम्मेदवार को बन्छ भन्ने विषय चन्द्रपुरका लागि मात्रै नभएर सिंगो पार्टीकै लागि चासोको विषय बन्ने गरेको छ । त्यस्तै कांग्रेस मधेश प्रदेश सभापति एबम् लोकप्रिय नेता कृष्ण प्रसाद यादवको जिल्ला भएको हुँदा जिल्लाको मुटु मानिएको चन्द्रपुरमा पार्टीबाट कसले पाउँछ टिकट भनेर चन्द्रपुर थप चर्चामा हुने गरेको हो ।
स्थानीय तहको निर्वाचनका लागि बैशाख १२ र १३ गते दुई दिन उम्मेदवारी मनोनयन दर्ताको समय दिइएको छ । त्यसैले एक महिनामात्रै बाँकी भएकाले उम्मेदवारहरुको दौडधुप बढेको छ भने नेताहरुलाई उम्मेदवार चयन गर्ने दवाव पनि उत्तिकै छ ।
कोको छन् आकांक्षी ?
चन्द्रपुर नगरपालिकामा कांग्रेसका तर्फबाट सूर्य बहादुर थापा,अजय कुमार,रामचन्द्र चौधरी र मुकेश गिरीको नाम मेयरका उम्मेदवारको रूपमा सर्वाधिक चर्चामा छ । 
थापा कांग्रेसको १४ औँ महाधिवेशनबाट मधेश प्रदेश कार्यसमिति सदस्यमा निर्वाचित भएका कांग्रेस मधेश प्रदेश सदस्य हुन  । २०५० सालमा जन जागृति माबि सिन्दुरेघारीको इकाइ अध्यक्ष हुदै बिद्यार्थी राजनितिबाट उदाएका उनी तिन पटक केन्द्रीय महाधिवेशन प्रतिनिधी बनिसकेका छन् । कांग्रेसभित्र कुशल संगठकका रूपका चिनिने उनी विद्यार्थी नेताबाट राजनीतिमा आफ्नो पहिचान बनाएका उनि प्रस्ट वक्ताका रूपमा चिनिन्छन । नगरभित्रका प्राय सबै सामाजिक क्षेत्रमा सक्रिय संघ/ संस्थामा बसेर जनताका लोकप्रियता बटुलेका थापा मेयरका बलिया दाबेदार हुन । उनलाई नेपाली कांग्रेस मधेश प्रदेश सभापति कृष्ण प्रसाद यादब र जिल्ला सभापति सुनिल कुमार यादव निकट नेताका रुपमा हेरिन्छ । प्रदेश सभापतिका विश्वासपात्र मानिएका उनको जिल्ला सभापति यादवले रुचाइएका व्यक्ति समेत हुन् । भिजन भएको नेता र सालिन स्वभावका उनको कम्युनिष्टहरूले समेत प्रशंसा गर्ने गर्दछन । आकांक्षी मध्यका हेभीवेट नेता भएको कारण मेयर टिकट पनि थापाले नै ल्याउने उनका समर्थकहरुको आकलन रहेको छ ।
चन्द्रपुर नगरपालिकाका अर्का आकांक्षी हुन अजय कुमार वि.सं. २०३४ सालमा नेविसंघमा आवद्ध भइ नेपाली कांग्रेसको राजनितिमा होमिएका कुमारको  नगर प्रमुखको टिकटको अब्बल दावेदार आफू भएको दाबि रहेको छ । नेपाली कांग्रेसभित्र एक कुशल संगठकको रुपमा चिनिएका उनले पार्टीका विभिन्न पदहरुमा रहेर काम गरिसकेका छन । नेपाली कांग्रेसको राजनीतिमा सक्रिय उनी सामाजिक सेवामा पनि उत्तिकै सक्रिय छन । कुमारले २०६२ सालमा जन ज्योती उच्च मा.वि.को विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा निर्वाचित भएर विद्यालयको शैक्षिक विकासमा योगदान पुर्याएका थिए । उनले सेतो गुराँस, मानव अधिकार तथा शान्ति समाजको अध्यक्ष लगायत धेरै संघ सस्थामा आवद्ध भएर काम गरिसकेका छन ।
यस्तै अहिलेका मेयर राम चन्द्र  चौधरीले फेरि दोहोरिने इच्छा देखाएका छन् । १३ औं महाधिवेशनबाट जिल्ला सचिव समेत भएका चौधरी १४ औँ महाधिवेशनको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन् । उनी नेपाली कांग्रेसको महासमिति सदस्य समेत हुन् ।  स्थानीय तहको निर्वाचनमा चौधरीले  ९ हजार ७८० मत प्राप्त गरी विजयी भएका थिए भने चौधरीका प्रमुख प्रतिस्पर्धी नेकपा (एमाले)का उद्धव प्रसाद ररेग्मीले ८ हजार ८३१ मत र माओवादी केन्द्रका युवराज भट्टराईले ७ हजार ८९४ मत प्राप्त गरेका थिए । उनले जिल्लाकै उत्कृष्ट नगरपालिका बनाउन गरेको पहल र दीर्घकालीन योजनाको निरन्तरताका लागि आफूलाई नै उपयुक्त भएको भन्दै चुनाव जितेको मान्छेको टिकट खोसेर अन्यलाई दिई पार्टीलाई हराउने नियत नेतृत्वको नरहेको विश्वास स्वरूप आफू नै उम्मेदवार हुने उनको दाबी रहेको छ ।  
चन्द्रपुर नगरपालिकाको मेयरका अर्का आकांक्षी हुन्, चन्द्रपुरमा  समाजसेवीको पहिचान बनाएका मुकेश  गिरि ।  गिरी प्रस्ट वक्ताका रूपमा चिनिन्छन । युवा नेताको पहिचान बनाएका उनि यस क्षेत्रका सम्भावना बोकेका नेताका रूपमा चिनिन्छन । जनताको  समस्यामा  अहोरात्र  खटिने, कार्यकर्तालाई माया गर्ने स्वभावका उनी गरीब एबम् विपन्नको सेवामा आफ्नो अधिकांस समय सामाजिक सेवामा खर्चिने गिरि नेपाली कांग्रेस चन्द्रपुर नगर सभापति समेत हुन् ।  उनको लोकप्रियता रहेकै  कारण १४ औँ नगर अधिवेशनमा भारी मतका साथ नगर सभापति पदमा विजयी भएका थिए ।
रौतहट क्षेत्र  नम्बर ४ का लोकप्रिय नेता संघीय सासंद देव प्रसाद तिमल्सिना निकट गिरि मेयरका बलिया दाबेदार हुन । नगर सभापति रहेको कारण अन्यको तुलनामा उनको सम्भावना बढी  देखिन्छ  । पार्टीमा  बसेर काम गरेको अनुभव र पार्टीमा निरन्तर सक्रिय उनको दावीलाई स्वभाविक रुपमा लिनुपर्ने कांग्रेस नेताहरु बताउँछन् ।



लोकतान्त्रिक परिपाटीमा विश्वास राख्ने कांग्रेसमा आकांक्षीको संख्या धेरै भएको र सामाजिक सञ्जालमा उम्मेदवारी घोषणा गरेका अन्य नेताको संख्या पनि प्रशस्तै भेटिएको भएता पनि मुख्यतः यी चार जना आकांक्षी मध्येबाट नै मेयर पदको लागी कांग्रेसबाट टिकट पाउने निश्चित देखिन्छ ।