प्राइम खबर संबाददाता | चैत १२, २०७८ शनिबार
रौतहट जिल्लाको चन्द्रपुर नगरपालिकाको भावी मेयरमा नेकपा एमालेका युवा नेता बालकृष्ण सापकोटाले दाबी गरेका छन् ।
स्थानीय तह निर्वाचनको मिति नजिकिँदै जाँदा नेता सापकोटा नगरक्षेत्रका कार्यकर्तासँगको परामर्शमा दौडधुपमा समेत लागेका छन् । नेकपा एमाले पार्टीको तर्फबाट आफू सबैभन्दा बलियो उम्मेदवार रहेको नेता सापकोटाको दाबी रहेको छ ।
नेता सापकोटा पूर्व सहरी विकास मंत्री प्रभु साहका पूर्व स्वकीय सचिव समेत हुन् । हाल साह नेकपा एमालेका स्थायी कमिटी सदस्य समेत रहेका छन् । साह अध्यक्ष ओली निकटका खास विश्वासपात्र मानिन्छन् । साह निकटका सापकोटालाई चन्द्रपुरमा एमालेबाट मेयरको टिकट पाउन सहज हुने विश्वास साह निकट एमाले नेता कार्यकर्ताले बताउँछन् ।
चन्द्रपुरको विकाशमा आफ्नो छुट्टै योगदान रहेको र नगरपालिकाका विभिन्न ठाउँमा मन्त्रालय मार्फत बजेट ल्याएर जनताको मन जित्ने गरी काम गरेका सापकोटाले मेयर पदमा दाबी गर्नु स्वभाविक भएको एमाले रौतहटका सहसचिव पलट चौधरीले बताएका छन।
स्थानीय सरकार भनेको विकास,समृद्धि र सुशासनको अनुभूति प्रदायक संस्था भएको भन्दै उनले भनेका छन् “मैले जति विकास बजेट ल्याएर काम गरेको एमाले चन्द्रपुरमा कोही छ भने देखाइदिनुस” उनले चुनौती समेत दिएका छन् । “विकास भनेको प्रत्यक्ष जनताले देख्ने र अनुभव गर्ने किसिमको हुनुपर्दछ त्यस किसिमको छर्लङ्ग देखिने किसिमको विकास मैले हरेक क्षेत्रमा गरेको छु ।" चन्द्रपुरमा संघीय सरकारको बजेट ल्याएर बाटो,मठ मन्दिर,पुल पुलेशा एबम् धार्मिक, पर्यटन क्षेत्रमा काम गर्न,गराउन सफल मानिएका उनको उम्मेदवारी अन्यलाई टाउको दुखाईको विषय हुनसक्ने आकलन स्थानीयले समेत गरेका छन् ।
बिद्यार्थी राजनीतिबाट राजनैतिक यात्रा सुरु गरेका नेता सापकोटा राजनीतिमा निकै सक्रिय रहेका छन । सानै उमेरमा कम्युनिस्ट राजनीतिबाट प्रभावित भएका उनको माओवादी जनयुद्दमा समेत विशेष योगदान रहेको बताउँछन् । उनी सहिद परिवारका सदस्य हुन । “गणतन्त्र प्राप्तिको लागि मेरो घरका दुईजना सहिद भएका छन् सानो उमेरमा तानाशाही व्यवस्थाको चपेटामा परेर राजनीतिमा होमिएको एउटा पीडित पात्र म पनि हु” उनले भने । मन्त्रीको स्वकीय सचिव भएर समेत अनुभव प्राप्त गरेका उनको संघीय सरकारको विभिन्न मन्त्रालयमा समेत सहज पहुँच रहेको र ठूला ठूला विकास योजनाको काम समेत योजनामा पारी चन्द्रपुरमा काम गर्ने उनको जिल्लामा समेत चर्चा परिचर्चा भइ नै रहन्छ ।
एमाले पार्टीभित्र चन्द्रपुर नगरपालिकामा मेयर पदमा आकांक्षी धेरै नरहेको र आकांक्षी मध्ये सबैभन्दा बलियो र धेरै जनमत भएको उम्मेदवारको रुपमा आफू नै रहेको र त्यसको आधार समेत स्पष्ट भएको नेता सापकोटाले प्राइम खबरलाई बताएका छन् । “देशभर अहिले परिवर्तनको लहर नै चलेको छ, हरेक क्षेत्रमा युवाको आकर्षण बढ्दो छ नेतृत्वमा समेत युवाहरुलाई तमाम कार्यकर्ताले रुचाएको स्थितिमा खाली एउटै व्यक्ति र एउटै पात्रलाई मात्र पार्टीले उम्मेदवार बनाउँदा आम मतदातालाई वितृष्णा पैदा हुने सम्भावनालाई मध्यनजर गर्दै पार्टीले उचित निर्णय लिनु पर्दछ “ उनले भने।
सरकारले आगामी वैशाख ३० गतेलाई स्थानीय तहको निर्वाचन घोषणा गरेको छ । स्थानीय तहको निर्वाचनको मिति नजिकै जाँदा रौतहटमा चुनावी चहलपहल बढेको हो।