प्राइम खबर संबाददाता | चैत ११, २०७८ शुक्रबार
नेपाल तरुण दल र नेपाल विद्यार्थी संघमा भाग नपाएको भन्दै शेखर कोइराला समूहले समानान्तर कार्यसमिति बनाउने निष्कर्ष निकालेका छन् । सभापति शेरबहादुर देउवाले बुधबार तरुण दलको अध्यक्षमा विद्वान गुरुङ र नेविसंघको अध्यक्षमा दुजाङ शेर्पालाई नियुक्त गरेपछि शेखर समूहलाई मन परेको छैन ।
स्थानीय तहको निर्वाचनको मुखमा शेखर समूह गुटको बैठक राखेर कांग्रेसलाई असर पर्ने गरेर विधान विपरितका हर्कत र निष्कर्ष निकाल्न थालेपछि कम्युनिस्टहरू खुशीले रमाएका छन् । काठमाडौंमा बिहीबार शेखर समूहका नेताहरूको गोप्य बैठक बसेर भाग खोजेको हो ।
भाग नदिएको भन्दै कांग्रेसलाई सिध्याइदिनेसम्मका कुरा शेखर समूहका नेताहरूले गरेका एक नेताले बताएका छन् । शेखर समूहका नेताहरूले वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री शशांक कोइराला र प्रकाशमान सिंहलाई संस्थापन समूहकै भएको आफ्नो गुटको भेलामा निष्कर्ष निकालेका छन् ।
शेखर समूहको गुटको भेलामा केन्द्रीय सदस्य प्रतिमा गौतम र गोविन्द पोखरेल, नेविसंघका पूर्व अध्यक्ष गुरुराज घिमिरे, केशव सिंह, तरुण दलका पूर्वअध्यक्ष विनोद कायस्थ, उप–सभापतिमा पराजित चन्द्र भण्डारी, नेविसंघका नेता मनोजमणि आचार्य, दिनेश राई, मोती भण्डारी, कमला थापा, रीता खनाल, कुसुम थापा, भूपेन्द्रजंग शाही लगायतको उपस्थिति रहेको श्रोतले बताएको छ ।