प्राइम खबर संबाददाता | चैत १०, २०७८ बिहिबार

नेकपा एमाले रौतहटको भाडभैलो सतह मै आएको छ । जिल्ला पार्टीमा सधै जसो हुँदै आएको किचलो एमाले रौतहटको झगडा केन्द्रीय कमिटीमा समेत प्रवेश गरेको छ ।


पूर्व माओवादी नेता समेत रहेका प्रभु साह एमालेमा लागेपछि एमाले पार्टीमा किचलो बढ्दै गएको जिल्लाका एमाले नेताहरुले स्वीकार गर्न लागेका छन् । पार्टीभित्र नेता साहका कारण परिवारवाद हावी भएको कारण विवाद चुलिएको स्थानीय एमाले कार्यकर्ताहरु बताउँछन् । पार्टीमा प्रभु साहको कारण जिल्लामा विवाद रहेको भन्दै केन्द्रीय सदस्य रेखाकुमारी झाले पार्टीका पोलिटब्यूरो सदस्य समेत रहेका साहविरुद्ध केन्द्रीय कमिटीमा उजुरी दिएकी छन् ।



केन्द्रीय सदस्य झाले बिहीबार बसेको केन्द्रीय कमिटी बैठकमा साहविरुद्ध उजुरी दिएकी हुन् । प्रतिनिधिसभा सदस्य समेत रहेकी रेखाले प्रभु साह माथि रौतहटमा मनोमानी ढंगले जिल्ला अधिवेशन गरेको र पाँच पदाधिकारीलाई मध्यरातमा अज्ञात स्थलमा लगेर सपथ खुवाएको आरोप लगाएकी छन् । उनले रौतहटको अधिवेशन पुनः गर्नुपर्ने मागसमेत गरेकि छन् ।

झाले केन्द्रीय कमिटी बैठकमा दिएको उजुरीमा भनिएका छ– ‘रौतहट जिल्ला अधिवेशन हल सम्पूर्णले गरेको विरोध र असहमतिका बाबजुद हलले अनुमोदन नै नगरेका पाँचजना पदाधिकारीलाई मध्यरातमा नेता प्रभु साहको नेतृत्वमा अज्ञात स्थलमा लगि सपथ खुवाइएको कार्यको घोर निन्दा गर्दै तमाम इमान्दार योद्धा कमरेडहरूको उच्च आत्मबललाई निराशामा परिणत नगरी दिनुहुन केन्द्रीय अध्यक्ष कमरेडलाई आग्रह गर्न चाहान्छु ।’



उता, एमाले कै निवर्तमान जिल्ला अध्यक्ष समेत रहेका तुलसी गिरीले समेत यसअघि नै प्रभु साहले तानाशाही शैलीमा आफूखुशी पदाधिकारी चयन गरेको र हलले विरोध गर्दा गर्दै पनि उनी निकटका कार्यकर्तालाई अज्ञात स्थलमा राती लागेर सपथ खुवाएको आरोप लगाउँदै एकलौटी निर्णयलाई मान्यता नदिन कार्यकर्तालाई समेत उर्दी जारी गरेका थिए ।