प्राइम खबर संबाददाता | चैत ८, २०७८ मंगलबार

नेकपा एमालेकी केन्द्रीय सदस्य तथा  संघीय सांसद रेखा कुमारी झाले रौतहट क्षेत्र नम्बर ३ का निलम्बित सांसद प्रभु साह प्रति लक्षित गर्दै सीमित व्यक्तिको व्यक्तिगत स्वार्थमा  नलाग्न एमाले कार्यकर्तालाई आग्रह गरेकी छिन् । 


मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै सांसद झाले आफ्नो पार्टी नेकपा एमालेको नाममा केही अमूक व्यक्तिले आफ्नो निजी स्वार्थ सिद्ध गर्नको निम्ति सिंगो एमाले पार्टीलाई नै बद्नामी गराएको भन्दै चिन्ता प्रकट गरेकी हुँन् ।   गत चैत्र २ गते राति भएको सवारी दुर्घटनाको विषयलाई लिएर संघीय सांसद झाले चिन्ता व्यक्त गरेको विज्ञप्ति मार्फत बताएकी छन् । उनले सवारी दुर्घटनाको विषयलाई लिएर प्रहरी अनुसन्धानमा रहेको विषयलाई प्रभावित पार्न जिल्लामा केही अराजक व्यक्तिहरू लागि परेको हुँदा सो घटनाको निष्पक्ष छानबिन भई दोषी जो कोही भएपनि दोषी माथि भन्दा कडा कारबाहीको माग समेत गरेकी छन् । 
सांसद झाले विज्ञप्तीमा भनेकी छिन् “ हर्साहा दुर्घटनालाई राजनैतिकरण गरी एमाले पार्टीको नाम र गरिमा भजाएर निष्पक्ष छानबिनमा असर पुग्नेगरी कुनै पनि प्रकारको आन्दोलन र विरोधको कार्यक्रम नगर्न सम्बन्धित सबैलाई आग्रह गर्न चाहान्छु” साथै उनले मंगलबार गरुडामा भएको  आन्दोलनको कार्यक्रममा पार्टीको आधिकारिक नीति र निर्णय नरहेको सर्वत्र जानकारी गराउँदै गैर आधिकारिक जिल्ला कार्य समितिको निर्णयलाई नमान्न नेकपा एमालेका कार्यकर्ता तथा नेतागण लाई आग्रह समेत गरेकी छिन । यसैगरी कुनै एउटा सीमित व्यक्तिको व्यक्तिगत स्वार्थको लागि सिंगो पार्टीलाई बद्नाम नगर्न, नगराउन सचेत गराउँदै निष्पक्ष छानबिन लाई प्रभावित नपार्न चेतावनी समेत दिएकी छिन् । 
गता बुधबार राति ८:२५ को समयमा चन्द्रनिगाहपुर-गौर सडक खण्ड अन्तर्गत हर्साहा चौकमा अत्यधिक मदिरा सेवन गरी चलाएको गाडी अनियन्त्रित हुँदा दुईजना युवकको ज्यान गएको थियो भने उक्त गाडीको ठक्करबाट डिउटीमा खटेका दुई प्रहरी समेत घाइते भएका थिए । उक्त  बा १७ च ६१६३ नम्बरको स्कर्पियो पिकअप गाडीको ठक्करबाट वृन्दावन नगरपालिका स्थित हर्साहाका ३५ वर्षीय जितेन्द्र पटेल र २८ वर्षीय हरी ठाकुरले ज्यान गुमाएका थिए । दुर्घटना पश्चात पुरै सिंगो हर्साहा गाउँ नै शोकमग्न बनेपछि तराई मधेशमा विशेष रूपले मनाइने होली पर्व समेत खल्लो भएको स्थानीयहरुले बताएका छन् । 
ठक्कर दिएर दुर्घटनामा परेको उक्त सवारी धनी समेत रहेका नागेन्द्र साह स्वयंले गाडी चलाएको हुँदा उक्त दुर्घटना हुन पुगेको आरोप लगाउँदै मृतकका आफन्तले प्रहरी कार्यालय समक्ष किटानी जाहेरी दिएका थिए । विहिबार प्रहरीमा  जाहेरी परेका नागेन्द्र साह रौतहटका निलम्बित सांसद एबम् नेकपा एमाले स्थायी कमिटी सदस्य प्रभु साहका  भाई पर्ने हुन् ।  नातामा भाई पर्ने भएको हुँदा सो घटनामा प्रभु साहलाई समेत नाम   जोडिएर बद्नाम गराउन लागेको भन्दै हतार हतार उक्त कुराको खण्डन गर्दै लगत्तै शुक्रबार त्रिभुवन साह (अमर) अध्यक्षको  हस्ताक्षरित  नेकपा एमाले रौतहटको नाममा एमालेले विज्ञप्ति जारी गरेको थियो । पार्टीको आधिकारिक छाप र चलानी नंबर समेत विहिन उक्त प्रेस विज्ञप्तिलाई जिल्लाकै केही  एमाले नेताहरुले समेत हताहस मानसिकताको उपज भन्दै विज्ञप्ति बारे टीका टिप्पणी समेत गरेका थिए ।
 उक्त दुर्घटनालाई प्रहरीले निष्पक्ष छानबिन नगरि पक्षपात गरेको आरोप लगाउँदै  मंगलबार प्रभु साह निकट मानिएका एमाले नेता त्रिभुवन साहको नेतृत्वमा गरुडा बजारमा साह समर्थित एमाले नेता कार्यकर्ताहरुद्वारा गरिएको प्रदर्शन प्रति विरोध जनाउँदै  नेतृ झाले  उक्त आन्दोलनको नाममा भएको प्रदर्शन पार्टीको नीति बिपरित रहेको समेत दाबी गरेकी छिन् ।
नेकपा एमालेकी प्रभावशाली नेतृ समेत रहेकी केन्द्रीय सदस्य तथा सांसद झाले रहेका उक्त दुर्घटनामा ज्यान गुमाउनेहरु प्रति श्रद्धाञ्जलि व्यक्त गर्दै दुई जना गम्भीर घाइते सुरक्षाकर्मीलाई शीघ्र स्वास्थ लाभको कामना समेत गरेकी छिन् ।