प्राइम खबर संबाददाता | चैत ७, २०७८ सोमबार

लोकतान्त्रिक समाजवादी पार्टीका  नेता राजेशमान सिंहले जनता समाजवादी पार्टी (जसपा) प्रवेश गरेका छन् । लोसपा त्यागेर राजेशमान सिंहले सोमबार वीरगञ्जमा आयोजित पार्टी प्रवेश कार्यक्रममा जसपा प्रवेश गरेका हुन् । जसपाका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, केन्द्रीय अध्यक्ष उपेन्द्र यादव, मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, सांसद् प्रदीप यादव लगायतका नेताहरुको उपस्थितिमा  पार्टी प्रवेश गरेका हुन् ।  कार्यक्रममा सिंहलाई सङ्घीय परिषद् अध्यक्ष भट्टराई,  अध्यक्ष उपेन्द्र यादव र मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले  फूलमाला लगाएर जसपा प्रवेश गराएका हुन् । सिंहसँगै लोसपालगायत अन्य विभिन्न राजनीति दल त्यागेर युवाहरुको एउटा ठूलो समूहले पनि जसपा प्रवेश गरेको छ । 


सिंहलाई आगामी स्थानीय तहको निर्वाचनमा वीरगञ्ज महानगरपालिकाको मेयर उम्मेदवार बनाउने  जसपाको तयारी छ । उनले यसअघि तत्कालिन राष्ट्रिय जनता पार्टीबाट मेयर लडेर तेस्रो स्थान ल्याएका थिए ।  वीरगञ्ज महानगरपालिकाको मेयरको टिकट पाउने आश्वाशनका साथ उनि यसअघि एमाले प्रवेश गर्न लागेका थिए । एमाले प्रवेश गर्न लागेको भन्दै उनले वीरगञ्जमा पत्रकार सम्मेलन मार्फत जानकारी पनि गराएका थिए । तर, उनि प्रवेश गर्नु अगाडि नै वीरगञ्ज महानगरका मेयर विजय सरावगी एमाले प्रवेश गरेपछि उनि अन्योलमा  परेपछि अन्ततः जसपा प्रबेस गरेका हुन् ।  



जिल्लामा एमालेको एउटा समूहसँग मेयरको टिकट पाउने सहमति गरेर पार्टी प्रवेश गर्न लागेका सिंह भन्दा अगाडी सरावगीले अर्को समूहसँग मिलेर एमाले प्रवेश गरेका थिए । एमालेमा निर्वाचित मेयरले प्राथमिकता पाउने देखेपछि सिंहले जसपालाई रोजेका हुन् ।