प्राइम खबर संबाददाता | चैत ७, २०७८ सोमबार
चन्द्रपुर नगरपालिकाका मेयर तथा नेपाली कांग्रेस रौतहटका नेता समेत रहेका रामचन्द्र चौधरीले निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न सबैले सहयोग गर्नुपर्ने बताएका छन् । मेयर चौधरीले भने, ‘देश अहिले स्थानीय तहको निर्वाचनको संघारमा छ ।’जनप्रतिनिधिले जनसवालका काम मात्र गरेर नहुने भएकाले काममा पारदर्शिता, गुणस्तरीयता, जवाफदेहिता र जनताको अपनत्व पनि सुनिश्चित गर्न आवश्यक रहेको उनले बताएका छन् ।
मुलुकमा तीन तहको शासनप्रणाली लागू भएसँगै संविधानले स्थानीय तहलाई विकास निर्माण र सेवा प्रवाहको क्षेत्रमा विभिन्न महत्वपूर्ण अधिकार र जिम्मेवारी प्रदान गरेको र त्यसबाट चन्द्रपुरका जनता पनि लाभान्वित भएको मेयर चौधरीले बताएका छन् ।
‘सीमित स्रोत–साधानका बाबजुद स्थानीय सरकारले जनताको अपेक्षा र भावना बमोजिमको काम सम्पन्न गर्न आफू सफल भएको र जनताप्रतिको आफ्नो दायित्व र जवाफदेहिता निर्वाह गर्न नगरप्रमुख ले भूमिका निर्वाह गरेको उनले दाबी गरेका छन् ।
उनले स्थानीय सरकारले गरेका काम र प्रदान गरेको सेवा सुविधाको प्रभाव जनतामा प्रत्यक्ष र छिटो पर्ने हुँदा जनताको काम छिटो–छरितो ढङ्गले बिना कुनै मरमोलाहिजा सम्पन्न गरी आम नागरिकमा सुशासनको प्रत्याभूति गराउनु स्थानीय तहको मुख्य कर्तव्य रहेको स्मरण गर्दै आफ्नो कार्यकालमा विकास र सुशासनको गतिलाई तिब्रता दिएको कुरा स्मरण गर्न सुझाएका छन् ।
नगर प्रमुख चौधरी जिल्लाको सबैभन्दा बढी विकास गर्ने मेयरको रूपमा आफूलाई परिचित गराउन सफल मानिन्छन् । नगर केन्द्रित विकास बजेटलाई विकेन्द्रीकृत गर्दै वडा वडामा समान बजेट विनियोजन गरी चन्द्रपुरका विकट स्थान मानिएका स्थानमा समेत विकाशको झझल्को दिन अब्बल मानिएका उनको नगरवासीले खुलेरै प्रशंसा गर्ने गर्दछन । उनी भन्छन “एकाध मेरो विरोध गर्ने दुई चार जना भन्दा वाहेक समग्र नगरवासी मेरो पक्षमा छैनन् भन्ने मलाई लाग्छ ।"
चन्द्रपुर नगरपालिकाका प्रत्येक वडाका सडकहरू कालोपत्रे गरेका नगरप्रमुख चौधरी भन्छन “चन्द्रपुरमा मात्र ८० किलोमिटर सडक कालोपत्रे भएको छ , अब निर्वाचनका बेला उम्मेदवारहरलाई दसैं वडामा भोट माग्न जान पनि सहज भएको छ । यस अघि धुले बाटो र हिलोमा टेकेर हिँड्नुपर्ने अवस्था छैन पक्की सडकमा टेकेर भोट माग्न सक्नेछन् ।“
चन्द्रपुरमा देखिनेगरी विकास भएको र नीति नियम एबम् कार्य सम्पादनमा अब्बल रहेको कारण विशेष नगर प्रमुखलाई नै त्यसको श्रेय जाने स्थानीयहरु समेत बताउँछन् । पछिल्लो समय कांग्रेसप्रति को विश्वास र भरोसा चन्द्रपुर नगरवासीमा बढ्दै गएको र देशमै कांग्रेसको जनलहर भएको हुँदा आगामी निर्वाचनमा १० वटा वडा रहेको चन्द्रपुरमा ८ देखि ९ वटा वडामा कांग्रेसले सहज रूपमा जित हासिल गर्ने आकलन रहेको स्थानीय हरिकृष्ण घिमिरे बताउँछन् ।