प्राइम खबर संबाददाता | चैत २, २०७८ बुधबार
नेकपा एमालेका अध्यक्ष खड्ग प्रसाद ओलीले आगामी स्थानीय निर्वाचनमा एमाले एक्लैले ६० देखि ७० प्रतिशत स्थानीय तहमा जित्ने दावी गरेका छन् ।
मंगलबार पार्टी निकट अनेमसंघको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो दावी गरेका हुन् ।‘एमालेलाई कसैको बैसाखी टेक्नुपर्छ, ढोडको लौरो टेक्नुपर्छ भन्ने होइन । हामी एक्लै लड्न सक्छौ’, अोलीले भने, ‘हामी ६० देखि ७० प्रतिशत एक्लै जित्न सक्छौ । यति जित्नका लागि अरुको साहारा लिनुपर्दैन ।’ पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले कम्युनिस्टका नाममा रहेका पार्टीहरूको नामप्रति पनि कटाक्ष गरे । ‘जसको काम नै फाटोवादी उ एकीकृत, जुन प्रतिगामी छ उ समाजवादी’, अध्यक्ष ओलीले एकीकृत समाजवादीप्रति लक्षित गर्दै भने ।
अध्यक्ष ओलीले आफ्नै पार्टीका नेता घनश्याम भुसाललाई तथाकथित बुद्धिजीवीको संज्ञा दिए । उनले भुसालको नामै नलिई तथाकथित बुद्धिजीवीहरुले कम्युनिस्टहरु नमिले समाप्त हुने भनेकोमा आपत्ति जनाए । ‘नेकपा एमालेले कसरी जित्न सक्छ ? प्रगतिशिल शक्तिले कसरी जित्न सक्छ ? कुनै कुनै तथाकथित बुद्धिजीवीले लेख्छन्– कम्युनिस्टहरु मिल्ने कि समाप्त हुने ? भनेर’, ओलीले भने, ‘मोहन वैद्यको पार्टीसँग एमाले मिलेन भने एमाले समाप्त हुन्छ रे ? माधव नेपालको गुटसँग मिलेन भने एमाले समाप्त हुन्छ रे यो माधव नेपाललाई भनेको कि एमालेलाई भनेको यस्ता जिस्क्याउने काम नगर्न चेतावनी दिन्छु ।’ कम्युनिस्ट एकता बेकारको कुरा भएको पनि उनले बताए ।