प्राइम खबर संबाददाता | फागुन २९, २०७८ आइतबार

नेपाली कांग्रेस केन्द्रिय कार्यसमितिको निर्णय अनुसार ७७ जिल्लामा एकै दिन घरघर जाउ, कांग्रेस जिताउ अभियान अन्तर्गत रौतहट जिल्लामा पनि अभियान कार्यक्रम एक समारोहको बीच सुरुवात भएको छ ।


  आईतबार देखी सुरु भएको अभियान कार्यक्रम 'हरेक काधमा भारी, हरेक हातलाई जिम्मेवारी’ भन्ने मूल नाराका साथ एक महिना सम्म चल्ने कांग्रेस नेता रबिनचन्द्र कोइरालाले बताए । सो अभियान आगामी चैत्र २९ गते सम्म जिल्लाका चार वटै क्षेत्र सहित प्रत्येक स्थानीय तहका वडा तहसम्म कांग्रेस जिताउँ अभियान सञ्चालन हुने नेता कोइरालाको भनाई रहेको छ । आईतबारबाट जिल्लामा सुरु भएको कार्यक्रम घरघर जाउ , कांग्रेस जिताउ अभियान जिल्लाको मध्य भागमा अवस्थित गरुडाको चिनिमिलको प्राङ्गणमा उदघाटन समारोह सम्पन्न भएको हो ।



नेपाली कांग्रेस केन्द्रीय कार्यालयले रौतहट जिल्लामा कांग्रेस केन्द्रीय सदस्य कल्याण गुरुङलाई सो अभियानका निम्ति प्रतिनिधि पठाएको छ । नेता गुरुङले कांग्रेसका प्रत्येक उम्मेदवारलाई जिताउन सबै तहका पार्टीका सभापतिहरु एकजुट भएर कांग्रेस जिताउ अभियानमा लाग्नुपर्ने बताएका छन् । उद्घाटन कार्यक्रममा बोल्दै नेता गुरुङले कांग्रेसका प्रत्येक क्रियाशील सदस्यले आफ्नो घरमा चारतारे झण्डा र रुख चिन्ह अंकित झण्डा अनिवार्य राख्न सुझाएका छन् । उनले वर्तमान देउबा नेतृत्वको सरकारले गरेका जनपक्षिय कार्यक्रम तथा कार्यहरूको बारेमा व्यापक प्रचार प्रसार गरी सकारात्मक सन्देश प्रदान गर्न स्थानीय नेता कार्यकर्तालाई आग्रह गरेका छन् ।



​​​​​​कार्यक्रमका विशिष्ट अथिती समेत रहेका कांग्रेस मधेश प्रदेश सभापति कृष्णा प्रसाद यादवले रौतहट जिल्लामा नेपाली कांग्रेस सबैभन्दा बलियो शक्ति रहेको र कोही कसैले कांग्रेसको जनलहरलाई रोक्न नसक्ने बताए । सभापति यादवले १४ औँ जिल्ला अधिवेशनमा निर्वाचित सम्पूर्ण पदाधिकारीहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना समेत व्यक्त गरेका छन्। अबको कांग्रेसको मिसन भनेको रुख चुनाव चिन्ह बाट चुनावमा उम्मेदवार रहेका हरेक तह र तप्काका रुख चिन्ह वाहक उम्मेदवारलाई जिताउनु रहेको बताए ।

जिल्ला कार्य समिति रौतहटको आयोजनामा सम्पन्न भएको उद्घाटन कार्यक्रमममा प्रमुख अथिति कांग्रेस केन्द्रीय सदस्य कल्याण गुरुङ, विशिष्ठ अथिती मधेश प्रदेश सभापति कृष्णा प्रसाद यादव, रौतहट जिल्ला सभापति सुनिल कुमार यादव (जितेन्द्र) लगायत विभिन्न तह र तप्काका कांग्रेस नेता आतिथ्यता रहेको कार्यक्रममा हजारौं कांग्रेस कार्यकर्ताको उपस्थिति रहेको विद्यार्थी नेता संगम श्रेष्ठले बताए ।



कार्यक्रमममा स्थानीय चुनाव नजिकिँदै जाँदा कांग्रेसले आफ्नो चुनावी कार्यक्रमलाई तिब्रता दिँदै देशभर कांग्रेसको पक्षमा जनमत जुटाउन लागेको अभियानमा सबैले साथ र सहयोग गर्नु आवश्यक रहेको हुँदा गुट उपगुट भन्ने वाक्यांश  अधिवेशन पश्चात समाप्त भएको हुँदा संगठित कांग्रेस निर्माणमा हातेमालो गरेर अघि बढ्नु उचित हुने नव निर्वाचित जिल्ला सभापति सुनिल यादवको भनाई रहेको थियो।