प्राइम खबर संबाददाता | फागुन २८, २०७८ शनिबार
एमालेका अध्यक्ष खड्गप्रसाद ओलीसँग नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य चन्द्र भण्डारीले भेट गरेका छन् । भण्डारीले ओलीसँग शुक्रबार भेट गरेका हुन् । भेटमा के कुरा भएको केही भनिएको छैन । तर, ओलीसँग निकै खुसी मुडमा भण्डारीले कुराकानी गरेको तस्वीरमा देखिएको छ ।
भण्डारीले ओलीसँगको भेटको तस्वीर सामाजिक सञ्जालमा राखेर के सन्देश दिन खोजेका हुन् केही भनिएको छैन । आफ्नो पार्टीको सभापति शेरबहादुर देउवासँग खिचिएको तस्वीरलाई भण्डारीले सामाजिक सञ्जालमा राख्दैनन् । तर, भण्डारीले कम्युनिस्टसँग खिचिएका तस्वीर गर्भका साथ राख्ने गरेका छन् । शेखर कोइराला समूहबाट उप–सभापतिमा उम्मेदवार बनेर पराजित बनेका भण्डारीले बेलाबेला उट्पट्याङ गर्ने गरेको चर्चा परिचर्चा चल्दै आइरहेको छ ।
बिगतमा ओली प्रधानमन्त्री बनेका बेला बालुवाटारमा सुटुक्क पुगेर नेता भण्डारीले भेट गरेका थिए । कांग्रेस र एमालेबीच विभिन्न टिकाटिप्पणी भइरहेका बेला ओलीसँग भण्डारीले भेट गरेका हुन् । भेटमा खोटाङ कांग्रेसका जिल्ला नेता सुवासचन्द्र पोखरेल पनि सँगै देखिएका छन् । पोखरेल पनि शेखर कोइराला समूहका हुन् ।
मनोनीत केन्द्रीय सदस्य नपाएपछि मुर्छित परेका नेता भण्डारीले बेलाबेला कम्युनिस्टसँग भेट गरेर मनोरञ्जन लिने गरेको श्रोतले बताएको छ। वर्तमान सत्ता साझेदार गठबंधन बिरुद्ध धावा बोल्दै आएका,गठबन्धनको विरोध गरेर सभापति देउवालाई असफल बनाउने दाउमा रहेका शेखर कोइरालाको भण्डारी विश्वासपात्र समेत मानिन्छन् ।