प्राइम खबर संबाददाता | फागुन २७, २०७८ शुक्रबार
रौतहटमा स्रोत नखुलेको १८ लाख ७३ हजार नेपाली रुपैयाँसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् । सशस्त्र प्रहरी बलले जिल्लाको बौधीमाइ नगरपालिका स्थित सरमुजवाबाट भारतीय नागरिकहरुलाई सो रकमसहित पक्राउ गरेको हो । भारतको बिहार राज्यको पूर्वी चम्पारण मोतिहारी जिल्लाको महंगुवा गुरहनवा ग्राम पंचायत २ का ४५ वर्षीय दीपनारायण प्रसादलाई सशस्त्र प्रहरी बल रौतहट पक्राउ गरेको हो।
भारतबाट नेपालतिर आइरहेका प्रसादलाई शंका लागि चेकजाँच गर्दा उक्त परिमाणको रकम बरामद भएको हो। रकमको स्रोतको विषयमा पक्राउ परेका भारतीय नागरिकले केही बताउन सकेका छैनन्। निजले चढेको मोटरसाइकल पनि सशस्त्र प्रहरीले बरामद गरेको छ। घटनाको अनुसन्धानको लागि सम्बन्धित निकायलाई बुझाउने काम भइरहेको सशस्त्र प्रहरी बल रौतहटले जनाएको छ।
ठूलो परिमाणमा भारतबाट अवैध रुपमा नेपाली रुपैयाँ भित्रिँदैछ भन्ने विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल गण नम्बर ११ हेड क्वार्टर रौतहटका इन्स्पेक्टर पंकजकुमार सिंहको नेतृत्वमा सादा पोशाकमा गएको प्रहरी टोलीले चेकजाँचपश्चात भारतीय नागरिकलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका भारतीय नागरिकले मोटरसाइकलको विभिन्न स्थानमा तथा हेलमेटको भित्री भागमा समेत लुकाएर स्रोत नखुलेको नेपाली रुपैयाँ भारतबाट नेपाल ल्याएका हुन् ।