प्राइम खबर संबाददाता | फागुन २१, २०७८ शनिबार
रौतहटको मौलापुर नगरपालिका वडा नं १ स्थित मर्यादपुरमा आधारभूत विद्यालय भवन निर्माण कार्यमा साहु कन्स्ट्रक्सनले व्यापक लापरवाही गरि रहेको खुलासा भएको छ । तत्कालीन जग्गा खरिद समितिका अध्यक्ष भोला पाण्डेले आर्थिक वर्ष ०७५/०७६ मा विद्यालय भवन बनाउन मौलापुर नगरपालिकाले ९५ लाखमा १ बिघा ३ कठ्ठा जग्गा खरिद गरेको बताए । सोही जग्गामा विद्यालय भवन निर्माणका लागि साहु कन्स्ट्रक्सनले २ करोड ६४ लाख र कमल कन्स्ट्रक्सनले १ करोड १३ लाख रकममा भवन निर्माणको लागि ठेक्का लिएको पाण्डेले बताए ।
बिहीबार पत्रकारहरु संग संक्षिप्त कुरा गर्दै पाण्डेले विद्यालय परिसरलाई उत्तरी र दक्षिणी गरि दुई भागमा वर्गीकरण गरिएको र उत्तरी तर्फ कमल कन्स्ट्रक्सनले भवन निर्माण गरिरहेको र दक्षिण तर्फ साहु कन्स्ट्रक्सनले भवन निर्माण गरिरहेको बताउँदै उत्तर तर्फको भवन निर्माण गर्ने ठेक्का पाएको बताए । कमल कन्ट्रक्सनका सञ्चालक कमल राय यादव हुन भने साहु कन्ट्रक्सन का सञ्चालक नागेन्द्र साह हुन ।
ठेकेदार नागेन्द्र साहले ठेक्का बमोजिमको काम गर्दा गुणस्तरहीन काम गरेको र माटो मिसिएको बालुवा को प्रयोग एबम् सिमेन्टको मात्रा कम प्रयोग गरि ढलान गर्दा भवन कमजोर निर्माण भएको स्थानीय जयनाथ कुशवाहाको आरोप रहेको छ । ठेकेदार साहले गुणस्तरहीन दुई नम्बर ईट्टाको प्रयोग गरेको स्थानीयले आरोप लगाएका छन्।
तीन वर्ष देखि भइरहेको विद्यालयको भवन निर्माण कार्य अन्तिम चरणमा पुग्दा वडा अध्यक्ष राम प्रवेश यादव स्थानीयहरु सहितको लिएर अनुगमन गर्न जादा काम गुणस्तरहिन काम भइरहेको पाइएकोले हाल निर्माण कार्यमा रोक लगाएको बताएका छन् ।
तोकिएको मापदण्ड अनुसार चाहिने मात्रामा सिमेन्ट प्रयोग नगरिएकोले निर्माण कार्य कमजोर रहेको स्थानीयहरूले गुनासो गरेका छन । निर्माण कार्यमा गुणस्तरहीन सामग्रीको प्रयोग गरिएकोले एकातिर निर्माण कार्य भइरहेको छ भने अर्कोतीर भत्किन थालेको अवस्था रहेको स्थानीय बताउँछन् । शौचालयको पर्खालमा ईट हटाउदा भटाभट झर्न थालेको र भुकम्प जस्ता प्राकृतिक विपत्तिको समयमा यस किसिमका असुरक्षित भवनमा पढ्ने विद्यार्थीहरुको सुरक्षा नभई दुर्घटना निम्तन सक्ने गुनासो स्थानीयको रहेको छ । उक्त भवनमा वाल, ढोका र पिलर लगायतका कार्यहरुमा गुणस्तरहिन निर्माण भएको आरोप अनुगमनमा सहभागीहरुको रहेको छ।
निर्माणधिन दुबै भवनको गुणस्तरीयता चेकजाँच गर्न लैब टेस्ट गर्न आवश्यक रहेको र विद्यालय जस्तो संवेदनशील क्षेत्रको भवन निर्माणमा भएको अनियमितताको बारे जिल्ला प्रशासन कार्यालय र मौलापुर नगरपालिकामा ज्ञापनपत्र मार्फत ध्यानाकर्षण गराउने तयारी रहेको शिक्षा प्रेमी भोला पाण्डेले जानकारी दिएका छन् । विकास निर्माणको कार्यमा आफूहरु बाधक नरहेको र शैक्षिक संस्थाको भवन निर्माण गर्दा गुणस्तरहीन कार्य भएको देखेपछि गुणस्तरीय एबम् दिगो काम हुनुपर्ने माग मात्रै आफूहरुको रहेको पाण्डे बताउँछन् । उक्त साहू कन्स्ट्रक्सनका सञ्चालक सहा रौतहट क्षेत्र नम्बर ३ का निलम्बित सांसद प्रभु साहका भाई समेत हुन् । आफ्नो पारिवारिक सदस्यको राजनीतिक ओतपोतमा सञ्चालक साहले मनोमानी ढंगले गुणस्तरहीन निर्माण कार्य गरेको वडाअध्यक्ष यादवको दाबी रहेको छ ।