प्राइम खबर संबाददाता | फागुन १, २०७७ शनिबार
रौतहट स्थित सन्तपूरमा मुआब्जा वितरण नहुदै निर्माण व्यवसायीले किसानको खेतमा रेल मार्गको ट्रयाक निर्माण गर्न थालेपछि पीडित किसानहरु आक्रोशित भएका छन । निर्माण कार्य दुर्त गतिमा सम्पन्न गर्ने निहुमा निर्माण व्यवसायीले मापदण्ड विपरित गुणस्तरहिन कार्य गरेको समेत स्थानीयको आरोप रहेको छ ।
चन्द्रपुर– ८ सन्तपुरमा पर्ने ठेक्का ४ नम्वर प्याकेज अन्तर्गत रेलमार्ग निर्माण गर्ने क्रममा सो ठेक्का लिएका निर्माण कम्पनी लामा गोल्डेन विरुवा जेभिका प्रतिनिधिले किसानको खेतमा राती एक्कासी ग्रावेल थुपारेको स्थानीयको भनाई रहेको छ । मुआब्जा पीडित किसानहरुले विहीबार निर्माण कार्य रोकेपछि निर्माण व्यवसायीका प्रतिनिधि संपर्क विहिन भएका छन । निर्माण व्यवसायीले हतारोमा काम गर्दा राम्रो संग रोलिङ समेत नभएको स्थानीय बताउछन । निर्माण स्थलमा रेल्वेको सम्बन्धित कर्मचारी नबस्नाले निर्माण व्यवसायीले मनलाग्दी काम गरेको हुँदा त्यसको गुणस्तरमा पनि संका उत्पन्न हुने सरोकारवालाको बुझाइ रहेको छ ।
मुअब्जा नपाउदै एक महिना अघि नै कृष्ण चौधरीको मालपोत कार्यालय बाट आफनो जमिन रेलवे विभागको नाममा जग्गा नामसारी भईसकेको छ तर मुआब्जा रकम भने पाएका छैनन् सो मुआब्जा नपाएसम्म काम अघि बढन नदिने उनले चेतावनी दिएका छन् ।
रेलवेको नाममा पास भईसकेको आफनो जमिनको लालपूर्जा बोकेर निर्माण स्थलमा पुगेका किसानहरू खेतको मुआब्जा पाईन्छ भनेर जमिन पास गराएपछि अहिले बेवास्ता भएको गुनासो किसानको छ । मुआब्जा नपाएपछि किसानहरुले आफनो खेतमा लगाएको गहु, मकै, मसुरो लगायतका बाली लाई नोक्सानी पुरयाउदै निर्माण व्यवसायीले कम ग्रयाबेल बढि बालुवा भएको ग्य्राबेल राख्न शुरु गरिसकेका छन ।
उनको जस्तो पीडा चन्द्रपुर–८ सन्तपुरका किसान लालवति तिमल्सिनाको रहेको छ । उनले भनिन् “ रेल्वेको कर्मचारी आउदैन निर्माण व्यवसायीले रातीको समयमा मिक्स ग्रयाबेल राखेर भाग्ने गरेको” उनले बताइन ।
हरेक लेयरको १५ सेन्टिमा ग्रेडिङ गर्दै पानी हाले पश्चात् पुन रोलिङ गरि हरेक लेयरको डेन्सिटी परिक्षण पछि अर्को लेयर तयार गर्न क्रमश ग्रेवल हाल्दै जानू पर्नेमा निर्माण व्यवसायीले एकैपल्ट दुई देखि तीन मिटर ग्य्राबेल राख्ने गरेको समेत पाइएको छ ।
उता रेल, मेट्रो रेल तथा मोनो रेल विकास आयोजना सर्लाहीका प्रमुख डिभिजन ईन्जिनियर देबेन्द्र साहले अर्थमन्त्रालयले रकम निकासामा ढिलाई गरेकोले किसान लाई मुआब्जा रकम वितरण गर्न ढिलाई भएको स्वीकार गरेका छन् ।
साहको भनाइ अनुसार अर्थमन्त्रालयले रकम निकासाको प्रक्रिया अघि बढाएकोले अबको दुई साता पछि मुआब्जा पीडित किसानको मुआब्जा रकम बितरण गरिने उनले बताए ।