प्राइम खबर संबाददाता | फागुन १७, २०७८ मंगलबार

रौतहट जिल्लाको इसनाथ नगरपालिकाको सरकारी गाडीको चरम दुरुपयोग भएको खुलेको छ । मंगलबार परेको महाशिवरात्री पर्वको अवसरमा परेको सार्वजनिक बिदाको दिन सो नगरपालिकाको गाडी भारतीय कलाकार खेसरीलाल यादवको कार्यक्रम मधानि महोत्सव हेर्न मौलापुर स्थित पतौरा पुगेपछि दुरुपयोग भएको हो ।


ना १ झ १७०६ नम्बरको उक्त सवारी सार्वजनिक बिदाको दिन अरु कुनै महत्वपूर्ण कार्यको लागि प्रयोग नभई जिल्लाको मौलापुर नगरपालिका स्थित पतौरामा लागेको मेला महोत्सवमा अर्कस्टा डान्स हेर्न मेयर सन्तोष मेहता पुगेको श्रोतले बताएको छ । सो स्थानमा शिवरात्रीको अवसरमा मङ्गलबार मधानी महोत्सव लागेको छ । उत्सृङ्खल नृत्य हेर्न जान बिदाको दिन सरकारी गाडीको प्रयोग गरिनु दुर्भाग्यपूर्ण कुरा भएको र नगरपालिकाको नै बद्नामी हुुुुने काम भएको  ओजीर आलम बताउँछन् ।  सार्वजनिक बिदाको  दिन सेतो नम्बर प्लेटको सरकारी सवारी साधन चलाउनको लागि अति विशेष काम परेको बखतमा प्रयोजन खुलाई   प्रशासनको अनुमति लिएर मात्र चलाउन पाउने व्यवस्था रहेको छ । बिदाको दिन सरकारी गाडीको दुरुपयोग हुँदा सम्म स्थानीय प्रशासनले केही गर्न नसकेको आरोप स्थानीयको रहेको छ ।



मनोरञ्जनात्मक कार्यक्रम हेर्न जानको लागि प्रयोग भएको उक्त सवारी रहेको उक्त नगरपालिकाका मेयर मेहता क्षेत्र नंबर ३ का निलम्बित सांसद समेत रहेका पूर्व विवादित मन्त्री प्रभु साहको कार्यकर्ता भएको कारण प्रशासनले समेत कुनै चासो नलिएको हुन सक्ने स्थानीय राजन साहले बताएका छन् । अघिल्लो दुई वर्ष अघिदेखि महायज्ञको नाममा देशी  विदेशी कलाकारद्वारा मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रमको आयोजना गर्दै आएको मौलापुर नगरपालिकाले अघिल्लो वर्ष सांस्कृतिक कार्यक्रमको निम्ति मंच बनाउन  किसानको गहुँ बारीमा डोजर चलाएर खेत खाली गरेपछि विवादित बन्दा चौतर्फी बिरोध समेत भएको थियो ।