प्राइम खबर संबाददाता | फागुन १५, २०७८ आइतबार
रौतहट जिल्लाको देवाही गोनाही नगरपालिकाका मेयर धर्मेन्द्र पटेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस रकमसहित पक्राउ गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौंबाट डिएसपी पुष्प मल्लको नेतृत्वमा खटिएको टोलिले दुई लाख पचास हजार नगद तथा दुई लाख पचास हजारको चेकसहित अख्तियारको टोलिले मेयर कक्षबाटै रङ्गेहात पक्राउ गरेको श्रोतले जनाएको छ।
मेयर पटेल सहित नगरपालिकाका अधिकृत, लेखापाल र मेयरका स्वकीय सचिव सहितलाई अख्तियारको टोलिले नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाएको स्रोतको भनाइ छ। मेयर पटेल सहितका कर्मचारीलाई नियन्त्रणमा लिएपछि सो नगरपालिकाको वरिपरि सुरक्षाकर्मी बाक्लो सङ्ख्यामा परिचालन गरिएको छ । थप बिवरण आउन बाँकी रहेको श्रोतले जनाएको छ ।