प्राइम खबर संबाददाता | फागुन १२, २०७८ बिहिबार

नेपाली कांग्रेस रौतहटको १४ औं जिल्ला अधिवेशन आउँदो फागुन २० गते शुक्रबार  हुने भएको छ । जिल्ला अधिवेशनको  मिति यस अघि १५ गतेआईतबार लाई तोकिएको भएता पनि मुलुकको राजनीतिक अवस्थाको कारण पाँच दिन पर सरेको छ । केन्द्रीय कार्यालयले बुधबार बेलुका एक सूचना जारी गर्दै १५ गरेको अधिवेशन २० गतेलाई सारिएको बताएको छ । जिल्ला अधिवेशनको चर्चा परिचर्चाले रौतहट कांग्रेस गुन्जिएको अवस्था रहेको छ ।


वर्तमान जिल्ला सचिव समेत रहेका हृदय नारायण यादव र संविधानसभा सदस्य जितेन्द्र यादव सुनिल जिल्ला सभापति पदका लागि आकांक्षी रहेका छन । मधेश प्रदेश सभापति कृष्णा प्रसाद यादवले नेतृत्व छनौटका लागि गरेको सर्व सहमतिको प्रयास लगभग अन्त्य भएको जस्तै भएको छ । दुई प्यानलबीच प्रतिस्पर्धा हुने लगभग निश्चित नै भएको रौतहट कांग्रेसका युवा नेता नेत्र बहादुर कुश्वार बताउँछन् ।



मधेस प्रदेशका पार्टी सभापतिले सहमति बाट जिल्ला नेतृत्व चयन गर्ने प्रयास गरेको भए पनि चुनाव नै हुने भएको छ । २० गते हुने जिल्ला अधिवेशनमा दुबै जना उम्मेद्वारहरू आआफ्नो प्यानल सहित प्रचार प्रसारमा जुटेका छन् ।

हृदयनारायण यादव र जितेन्द्र यादवको प्यानलबाट पदाधिकारी को को बन्ने भने आधिकारिक रूपमा घोषणा भइसकेको छैन । आकांक्षीहरु धेरै भएको भएतापनि अधिकारिक उम्मेदवारी मनोनयन पत्र दर्ता भएसँगै घोषणा हुने भएको छ । हृदयनारायण यादवलाई पुर्वमन्त्री अफ्ताब आलम,प्रतिनिधिसभा सदस्य देव प्रसाद तिमल्सीना र प्रभावशाली नेता शेख वकिलको समेत साथ रहेको छ भने उता, जितेन्द्र यादवलाई मधेस प्रदेशका सभापति कृष्ण प्रसाद यादव, रामचन्द्र चौधरी , मधेश प्रदेश सदस्य सूर्य बहादुर थापा लगायत संस्थापन पक्षका कांग्रेस नेताहरुको साथ रहेको छ ।



पार्टी सभापति शेर बहादुर देउबा निकट मानिने जितेन्द्र यादव अहिले जिल्लाको प्रत्येक वडामा कांग्रेसका मतदातासँग भोट माग्न व्यस्त रहेका छन । संस्थापन पक्षका दिग्गज नेताहरुको साथमा ठूलो दलबलसहित मतदातासँग मत माग्न घर दैलो अभियानमा जुटेका हुन् । बिद्यार्थी राजनीतिबाट नेपाली कांग्रेसको राजनीतिमा प्रवेश गरेका जितेन्द्र यादव प्रखर वक्ता समेत हुन् । युवा उमेरमै दोश्रो संविधान सभा निर्वाचनमा विजयी हासिल गरेका यादव युवाहरु माझ लोकप्रिय समेत रहेका छन् । वडा देखि केन्द्रीय महाधिवेशन सम्म नै यसपाली युवा नेतृत्वलाई कांग्रेस कार्यकर्ताले रुचाएको तथ्य बुझेको रौतहट कांग्रेसले जिल्लामा समेत पार्टीको नेतृत्व प्रखर वक्ता र युवा नेता जितेन्द्र यादवलाई साथ दिने आकलनले देखाएको छ । पार्टीका केन्द्रीय सभापति देउवा निकट रहेका यादवको चर्चा परिचर्चा जिल्लामा समेत चुलिनुको कारण संस्थापन इतर समूहका मतदाताहरुको समेत मन यादवले जितेका कारण उनले जीत हासिल गर्ने सोझै अनुमान लगाउन सकिने संस्थापन इतर समूहका कार्यकर्ताहरु समेत बताउँछन् । “आफू कोइराला पक्षको भएको र आफ्नो टिमको लागि हृदय नारायण यादव जिल्ला सभापतिको उम्मेदवार भएको भएतापनि जिल्लामा गतिशील र चलायमान कांग्रेस निर्माणका लागि युवा नेता जितेन्द्र यादवलाई सभापतिमा मतदान गर्ने “ क्षेत्र नं ४ का क्षेत्रीय प्रतिनिधि समेत रहेका एक नेताले नाम उल्लेख नगर्ने सर्तमा बताएका छन् ।

निडर र स्पष्ट वक्ता समेत रहेका यादव युवाका मात्र नभई रौतहट कांग्रेसका पुराना एबम् पाको उमेरका नेता कार्यकर्ताको रोजाइमा समेत पर्ने गरेका छन् । उनी जिल्लाको नेतृत्वमा आउँदा जिल्ला पार्टी चुस्त दुरुस्त र चलायमान हुने उनी जस्तै उर्जाशील हुने कांग्रेस रौतहटका पूर्व उपसभापति रहेका अनन्त कोइराला बताउँछन् ।

 रौतहट क्षेत्र नम्बर ३ बाट निर्वाचित भई हाल निलम्बनमा परेका सांसद प्रभु साहलाई समेत निर्वाचनमा गतिलो चुनौती दिने उम्मेदवारका रूपमा नाम कहलिएका यादव ठाकुरराम बहुमुखी क्याम्पस वीरगञ्जका पूर्व स्ववियु सचिव समेत हुन् ।

विशेषतः जिल्लाको उत्तरी भेगका कांग्रेस कार्यकर्ता आफ्नो नेतृत्व छनौटमा विवेक पुर्याउदै समूह र टिमको राजनीतिमा भन्दा पार्टीको लागि आवश्यक नेतृत्व चयन गर्दै निर्वाचनमा सहभागी हुने र अधिकांस क्रश मत हुने सम्भावना रहेको स्थानीय कांग्रेस नेता कार्यकर्ता बताउँछन् । सभापति पदमा जितेन्द्र यादवलाई मत दिने र सचिवमा कोइराला पक्षका उम्मेदवार लगायत अन्यलाई सहयोग गर्ने कोइराला निकट एक नेताले बताए ।



कांग्रेस नेता कार्यकर्ता माझ राम्रो छवि बनाएका उनी जिल्ला सभापतिमा निर्वाचित हुनेमा आफूहरु विश्वस्त रहेको मधेश प्रदेश सदस्य सूर्य थापा बताउँछन् । रौतहट कांग्रेसका नेता कार्यकर्ताको भनाइ र युवा नेतृत्वलाई अगाडि बढाउने रौतहट काग्रेसका कार्यकर्ताका मनोभावना बुझ्दा जितेन्द्र यादव कै पल्ला भारी हुने देखिएको छ ।