प्राइम खबर संबाददाता | फागुन १, २०७८ आइतबार

नेकपा एमालेले पार्टीको साधारण सदस्य र सांसद सदस्यबाट निष्कासन गरेका १४ जनालाई पदमुक्त नगरी सभामुखले गैरकानूनी काम गरेको आरोप लगाउदै तीनै व्यक्तिको सनाखतबाट नयाँ दल दर्ता भएको भन्दै परेको मुद्दामा आईतबार  सुनुवाइ हुँदैछ । 


पटकपटक पेसी चढेर हेर्न नभ्याइनेमा परेको सो मुद्दा आज न्यायाधीशहरू ईश्वर खतिवडा र कुमार रेग्मीको इजलासमा परेको छ । आज सो मुद्दामा आदेश आउने सम्भावना रहेको सर्वोच्च स्रोतले जनाएको छ । सर्वोच्चले सो मुद्दाउपर निकास नदिँदा संसदसमेत बन्धक जस्तै बनेको छ । सो बिषयलाई लिएर एमालेले पटक पटक सदन अबरुद्ध गर्दै आएको छ ।



एमालेले साउन २५ को केन्द्रीय कमिटी बैठकको निर्णयअनुसार माधव नेपालसहित १४ सांसदलाई निष्कासन गरेको पत्र भदौ १ गते संसद सचिवालय र निर्वाचन आयोगमा पठाएको थियो । तर, सचिवालयले सो सूचना टाँस नगरेपछि माधव नेपालले एमालेबाट विभाजनका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए  । आयोगले नेकपा एकीकृत समाजवादीलाई दलको मान्यता दिइसकेपछि मात्र संसद सचिवालयले नयाँ दल दर्ता भइसकेकाले कारवाही गर्नु नपर्ने सूचना समेत टास गरेको थियो ।