प्राइम खबर संबाददाता | माघ २७, २०७८ बिहिबार
काठमाडौं, नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ता गरेका छन् । नेता कोइराला दाहाललाई भेट्न उनको निवास खुमलटार पुगेका थिए । दुई नेताबीच स्थानीय तहको निर्वाचन र एमसीसी सम्झौताको विषयमा छलफल भएको स्रोतले बताएको छ ।
यसअघि कोइरालाले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए । कोइरालाको दौडधुपलाई निकै चासोको रुपमा हेरिएको छ । एमसीसीकै कारण सत्ता गठबन्धन टुट्ने चर्चाको बेला कोइरालाले आफ्नो राजनितीक सक्रियता बढाएका छन् । दाहालसँगको भेटमा कोइरालाले चुनावमा कांग्रेसले कसैसँग पनि गठबन्धन नगर्ने अडान लिएको स्रोतको दाबी छ ।
कांग्रेस कोइराला समूहले सुरुदेखि नै कांग्रेस चुनावमा एक्लै उठ्नुपर्ने र गठबन्धन गर्न नहुने अडान राख्दै आएको छ। उता, सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा भने आगामी निर्वाचनसम्म पाँच दलीय गठबन्धन कायम राखेर जान चाहन्छन् । काग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल पनि गठबन्धनको पक्षमा खुलेरै लागेका छन् ।