प्राइम खबर संबाददाता | माघ २७, २०७८ बिहिबार
पत्रकारलाई गालीगलौज गरेकोमा नेपाल पत्रकार महासंघले बिरोघ जनाएको छ । महासंघले बुधबार एक बिज्ञप्ती जारी गर्दै नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका उपाध्यक्ष तथा ग्यालेक्सी टेलिभिजनका कर्णाली प्रदेश व्यूरो प्रमुख सुदीप पुरी र सदस्य तथा उकेरा डटकमका पत्रकार जगतदल जनाला विकलाई समाचारको विषयलाई लिएर अपशब्द प्रयोग गरी गालीगलौज गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको बताएको छ ।
कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री छिरिङ डम्डुल लामा (कार्चेन) का बारेमा संप्रेषित समाचारको विषयलाई लिएर मन्त्रीका समर्थक तथा निकटस्थ व्यक्तिहरूले पत्रकारद्वयलाई अपशब्द प्रयोग गरी गालीगलौज गर्ने तथा सामाजिक सञ्जालमा समेत अपमानजनक शब्द प्रयोग गर्ने गरेको महासंघ सुर्खेत शाखाले जनाएको महासंघको बिज्ञप्तीमा उल्लेख छ ।
प्रकाशित समाचारप्रति चित्त नबुझे वा कुनै गुनासो रहे त्यसउपर कानुनी उपचारमा जान सकिने विकल्प हुँदाहुँदै पत्रकारलाई गालीगलौज गर्ने तथा हतोत्साहित बनाउने जस्ता हर्कत हुनु खेदजनक र प्रेसविरोधी काम भएको महासंघको ठहर रहेको छ । महासंघ संविधानले सुनिश्चित गरेको प्रेसको अधिकार र स्वतन्त्रताको सम्मान गर्न र आगामी दिनमा प्रेस बिरोधि गतिविधि नगर्न सम्बन्धित निकायलाई ध्यानाकर्षण गर्न महासंघका महासचिब रोसन पुरीले जनाएका छन् ।