प्राइम खबर संबाददाता | माघ २६, २०७८ बुधबार
रौतहट जिल्लाको चन्द्रनिगाहपुर चौकमा एमसीसीको बिरुद्ध प्रदर्शन भएको छ ।
बुधबार चन्द्रनिगाहपुर चौकमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सहितको सात दलीय गठबन्धनको आयोजनामा विरोध प्रदर्शन भएको हो । सात दलीय संयुक्त मोर्चाले मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विरुद्धमा नाराबाजी गर्दै चन्द्रनिगाहपुर चौकलाई परिक्रमा गरेका हुन् ।
सरकारले एमसीसी संसदमा टेबुल गराएर अघि बढाउन लागेको भन्दै त्यसको विरुद्ध मोर्चा बन्दी गर्दै अघि बढ्नु परेको नेकपा रौतहट सेक्रेटरी कुमार राईले बताएका छन् ।
राष्ट्रघाती सम्झौता खारेज गर, दलाल नेताहरु होसियार, एमसीसी मुर्दाबाद लगायतको नारा लगाउँदै विरोधमा उत्रिएको मोर्चा कोण सभामा परिणत भएको थियो । कोण सभालाई सम्बोधन गर्दै नेकपा सेक्रेटरी राईले राष्ट्रघाती सम्झौता कुनै हालतमा मान्य नहुने बताएका छन् । “ यदि देशलाई बर्बादीको दिशातर्फ लैजान सत्ताधारी एबम् विपक्षी दलहरु एम सी सी लागू गर्न लागे भने हामी रगतको खोलो बगाउन पछि पर्दैनौ “ नेता राईको भनाइ रहेको छ ।
मुलुकमा एमसीसी को विषय निकै नै पेचिलो बन्दै गएपछि जनस्तरबाट पनि विरोध भइरहेको छ । सामाजिक सञ्जाल लगायतमा अधिकांसले एम सी सी को विरोध सर्वत्र भइरहेको हुँदा सरकारले एम सी सी लाई कुन ढंगले निर्णयमा पुर्याउने त्यो आम नेपालीको चासोको विषय बनेको छ ।