प्राइम खबर संबाददाता | माघ २६, २०७८ बुधबार
रौतहटको ईशनाथ नगरपालिकामा एक युवतीको शव फेला परेको छ । युवतीको शव गहुँबारीमा फेला परेको हो ।
ईशनाथ –९ बस्ने १९ वर्षीया चाँदनी खातुनको शव बिहीबार फेला परेको रौतहट प्रहरीले जनाएको छ । युवतीको मुखमा कपडा कोचेको अवस्थामा फेला परेको हुदा हत्या भएको हुन सक्ने आशंका गरीएको छ । युवतीको शव लौतना र मठियाको बीचमा पर्ने ईशनाथ–४ स्थित गहुँबारीमा फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनको चार वर्षअघि ईशनाथ नगरपालिका–७ का एक युवकसँग विवाह भएको थियो । विवाह पश्चात पनि युवती माइतीमै बस्दै आएकी थिइन् ।
श्रीमानको फोन आएर उनी घरबाट बाहिर निस्किएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । पोष्टमार्टमको लागी शवलाई जिल्ला अस्पताल गौर पठाईएको छ । पोष्टमार्टम पछि घटनाको बारेमा थप कुरा खुल्ने रौतहटका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले बताए ।