प्राइम खबर संबाददाता | माघ २५, २०७८ मंगलबार
नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले तराई मधेशका जिल्लाहरुमा कृषि क्षेत्रको बिकास हुन जरुरी रहेको बताएका छन् । नेता पौडेलले रौतहटसहित तराई मधेशका जिल्लाहरु कृषिको लागी उपयोगी क्षेत्र रहेको हुँदा त्यसतर्फ राज्यले विशेष महत्व दिनुपर्ने बताएका छन् ।
रौतहटको बृन्दावन नगरपालिका वडा नं १ स्थित बैराठपुरमा आयोजित श्री विष्णु महायज्ञ उदघाटन गर्न मंगलबार रौतहट आएका वरिष्ट नेता पौडेलले रौतहटसहित आसपासका जिल्लाहरु कृषिको लागी उपयोगी क्षेत्र रहेको हुँदा यहाँका स्थानीय तहहरुलाई कृषि लक्षित कार्यक्रमहरु ल्याएर विकास गर्न आग्रह समेत गरेका छन् । नेता पौडेलले भने ' संघीय सरकार पनि यस क्षेत्रका लागी अरबौको सिंचाई आयोजना गर्न लागि परेको छ, बजेट समेत स्वीकृत गराइसकेको छौ’ नेता पौडेलले भने । जलस्रोतको धनी देश भएर पनि सिंचाईबाट वञ्चित किसानको समस्या अब चाडैं समाधान हुने उनले दावी गरेका छन् ।
वृन्दावन नगरपालिकाका नगरप्रमुख राम स्नेही यादवको सभापतित्वमा भएको महायज्ञ उदघाटन कार्यक्रममा नेपाली कांग्रेस रौतहट क्षेत्र नं—४ का संघीय सांसद देव प्रसाद तिमल्सिना, नेकपा माओवादीका रौतहट जिल्ला इन्चार्ज युवराज भट्टराई, संबिधान सभा सदस्य देबेन्द्र पटेल, जितेन्द्र यादव , नगरपालिका संघ मधेश प्रदेशका अध्यक्ष शेख वकील लगाएतका विभिन्न नेताहरु एबम् महायज्ञका पण्डित स्वामी गरीब दासको आतिथित्यता रहेको थियो ।
उद्घाटन कार्यक्रमममा उपस्थित अतिथि हरुले महायज्ञ सफलताको शुभकामना व्यक्त गरेका थिए । ९ दिन सम्म चल्ने उक्त महायज्ञमा २१ सय २१ कन्याहरुले कलश यात्रा गरेका थिए । महायज्ञको उद्घाटन प्रमुख अतिथि पौडेलले गर्दै गर्दा महायज्ञ स्थल वरपर हेलिकप्टरबाट पुष्पवृष्टी समेत गरिएको आयोजक समिलेले जनाएको छ ।