प्राइम खबर संबाददाता | माघ २४, २०७८ सोमबार

राष्ट्रिय गौरबको आयोजना मानिएको पूर्व पश्चिम विद्युतीय रेलमार्गको निजगढ बर्दिबास खण्ड अन्तर्गत रौतहटको चन्द्रपुर ८ बेतौनामा निर्माणाधीन ३ नम्बर प्याकेजको काम बन्द भएको छ । सोमबार कर्मचारी र स्थानीय सप्लायर्सलाई रकम भुक्तानी नगरेको भन्दै  सप्लायर्सहरुले काम बन्द गरेका हुन्  । 


उक्त तीन नम्बर प्याकेजको ठेक्का हिम्दुङ ठोकर जेभिले सकार गरेको भएतापनि  ठेकेदार कम्पनिले पेटी ठेक्का मार्फत त्रिनेत्र साकार कोटेश्वर ३५ काठमाण्डौलाई दिएपछि, पेटी कनट्र्याक्टमा निर्माणको जिम्मा लिएको त्रिनेत्र साकारका प्रोपराईटर प्रकाश कार्कीले  आपुर्तिकताको रकम बर्ष दिन बित्दा समेत भुक्तानी नगर्दा काम बन्द गराउनु परेको दिनेश गिरीले बताएका छन् ।  



रेल्वेको उक्त साईटमा काम गर्ने ३० कर्मचारीको करिब ६८ लाख ६१ हजार रुपैयाँ र मिक्स ग्रेभल देखि अन्य सामाग्री आपुर्ति गर्नेहरूको करिब ९ करोड ५० लाख रुपैयाँ भुक्तानी हुन नसकेको गिरीले जानकारी दिएका छन्  । ठेकेदार कम्पनीले काम बापतको भुक्तानी निकाल्ने र अन्यत्र खर्च गर्ने गरेको आरोप स्थानीय सप्लायर्सहरुको छ । 



सधैँ आज भोलि भन्दै ठेकेदारले झुक्क्याउने मात्र गरेको सप्लायर छवि पहरीले बताए । करोडौँ रकम भुक्तानी नदिएपछि काम बन्द गराउनु बाहेक केही विकल्प छैन,जब सम्म भुक्तानी हुँदैन तबसम्म काम बन्द रहन्छ,उनले भनेका छन् ।  समयमा भुक्तानी नहुँदा ब्याज काढेर लगानी गरेको रकम लामो समयदेखि उठ्न नसक्दा सबै  सप्लायर्सहरु आक्रोशित बनेर रेल्वेको काम तत्काल बन्द गर्दै ठेकेदारमाथि दबाब दिन लागी परेका हुन् । उक्त साईटमा लामो समयसम्म चौकिदारको काम गरेका जगरनाथ पासवान आफ्नो मजदूरीको पैसा समेत नपाएकोमा दुखेसो ब्यक्त गर्दै ठेकेदार समक्ष आफ्नो पिडा पुर्याईदिन आग्रह गरेका छन् ।