प्राइम खबर संबाददाता | माघ ३०, २०७७ शुक्रबार

    रौतहट प्रहरीले फरार सूचीमा रहेका दुई अभियुक्तहरुलाइ पक्राउ गरेको छ। पक्राउ पर्नेमा रौतहटको गुजरा नगरपालिका वडा नं.७ वस्ने ३७ बर्षीय महम्दीन अंसारी र चन्द्रपुर नगरपालिका वडा नं. ६ वस्ने ३० बर्षीय संजिव ठोकर रहेका छन्।
 जिल्ला अदालत गौरको फैसला कार्यान्वयन गर्ने अभियान अन्तर्गत अदालतबाट कैद तथा जरिवाना सजाय भई हाल सम्म फरार रहेका तथा अपहरण तथा शरीर बन्धक र लागु औषध मुद्दामा वारदात पश्चात फरार रहेका प्रतिवादीलाइ प्रहरीले पक्राउ गरेको हो। अंसारीमाथि अपहरण तथा शरीर बन्धक मुद्दा रहेको छ भने  ठोकर लागु औषध मुद्दामा २ महिना कैद र १४ हजार ४ सय पचास जरीवाना तोकिएका फरार अभियुक्त हुन ।  पक्राउ परेका  दुवै जनालाई विहिबार कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी गराएको छ ।