प्राइम खबर संबाददाता | माघ १८, २०७८ मंगलबार
नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एबम् युवा नेता युवराज भट्टराई ' समीर ' ले जस्तोसुकै परिणाम ब्यहोर्नुपरे पनि अमेरिकी सहायता परियोजना एमसीसी पारित गर्न नहुने बताएका छन् ।
पछिल्लो समय एमसीसीको विषय एकदमै पेचिलो बन्दै गएपछि गठबन्धनमा समेत असर पर्ने अवस्था सिर्जना भएपछि नेता भट्टराईले मुख खोलेका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दलका नेता खड्ग प्रसाद ओलीले एमसीसी संसदमा टेबुल गर्न जोड दिइरहेका बेला उनले माओवादी कुनै पनि हालतमा एमसीसीको पक्षमा उभिन नहुने बताएका हुन् ।
मंगलबार सामाजिक सञ्जाल फेसबुकमा एमसीसी बारे आफ्नो धारणा व्यक्त गर्दै 'राष्टियता भन्दा ठुलो केही हुदैन असहमत गर्दा वा पारित नगर्दा गठबन्धन टुटे टुटोस आउने जे सुकै परिणाम बेहोर्न तयार हुनुपर्छ ।देश हार्नु हुदैन पार्टी हारे ब्यक्ति हारे केही हुदैन, नो एमसीसी, गो ब्याक एमसीसी ' उनले भनेका छन् ।
एमसीसीकै कारण गठबन्धन टुट्न गए पनि टुट्न दिनुपर्ने उनको भनाइ रहेको छ । व्यक्ति र पार्टी हारे केही फरक पर्दैन तर राष्ट्रियताको सवालमा देश हार्न नहुने उनको बुझाइ रहेको छ । नेता भट्टराई माओवादी केन्द्र रौतहटको जिल्ला ईन्चार्ज समेत हुन् ।