प्राइम खबर संबाददाता | माघ १६, २०७८ आइतबार
नेकपा एमालेका स्थायी कमिटी सदस्य समेत रहेका नेता प्रभु साहले सर्वसाधारणको स्वास्थ्यलाई जोखिममा पार्दै आफ्नो राजनीतिक कार्यक्रम गरेका छन् ।
नेता साहले शनिबार रौतहटको देबाही गोनाहि नगरपालिका स्थित करुनियामा नेकपा एमालेको प्रथम नगर अधिवेशनको नाममा ठूलो तामझाम सहित भीड जम्मा गरेका हुन् । विश्वभर फैलदै गएको कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको जोखिम नेपालमा समेत उच्च रहेको र दिन प्रतिदिन संक्रमितको दर उच्च भइरहेको अवस्थालाई मध्यनजर गर्दै जिल्लामा स्थानीय प्रशासनले भीडभाड नगर्न, हाटबजार,शिक्षण संस्था,हल लगायत समेत तत्काल सञ्चालन नगर्न निर्देशन समेत गरेको छ ।
सुरक्षा मापदण्ड पुरा गर्दै सार्वजनिक स्थानमा मास्क लगाएर हिड्ने र ठूलो संख्यामा भेला हुने किसिमको कुनै कार्यक्रम नगर्न आग्रह गरेको प्रशासनको निर्णयलाई चुनौती दिँदै नेता साहले करुनीयमा ठूलो भीड जम्मा गरेर ओमिक्रोनको जोखिममा सर्वसाधारण जनतालाई पारेको आरोप स्थानीयहरुले लगाएका छन्।
‘ कार्यक्रममा उपस्थित सर्वसाधारण एबम् स्थानीय नेता कार्यकर्ताले मास्क समेत लगाएका छैनन् अन्य स्वास्थ्य मापदण्डको त कुरै छाडौं, नेता भनाउदा यस्तो गतिविधिले जनतामा ठूलो जोखिम उत्पन्न भएको छ ‘ स्थानीय शेख फुलबाबु बताउँछन् ।
जिल्ला प्रशासन कार्यालय रौतहटले ओमिक्रोन को संक्रमण तिब्र रुपमा फैली रहेको भन्दै शुक्रबार मात्र जारी गरेको आदेशको खिल्ली उडाउँदै प्रशासनलाई समेत चुनौती दिँदै नेता साहले आदेशको भोलिपल्टै ठूलो संख्यामा भीड जम्मा गरेर नगर अधिवेशनको कार्यक्रम गरेपछि उनको चौतर्फी आलोचना र विरोध भइरहेको छ ।
दैनिक उपभोग्य तरकारी बजार समेत बन्द गराउँदै हिँड्न पछि नपर्ने स्थानीय प्रशासनले समेत उक्त कार्यक्रमबारे बोल्न नसक्नुमा र कुनै काम कारबाही गर्न नसक्नुमा स्थानीय प्रशासन समेत चुकेको स्थानीयहरु बताउँछन् ।