प्राइम खबर संबाददाता | माघ १३, २०७८ बिहिबार

संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवविरुद्ध प्रहरीमा जाहेरी दरखास्त परेको छ ।
जनता समाजवादी पार्टीले बलिदानी दिवसको अवसरमा माघ ५ गते रौतहटमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै मन्त्री यादवले जनमत पार्टीका अध्यक्ष सिके राउतलाई  धम्की दिएकी थिइन् ।
बिहीबार  नेपाली कांग्रेसका नेता रञ्जित कर्णले मन्त्री यादवले साम्प्रदायिक द्वन्द्व फैलाउने अभिव्यक्ति दिएको भनेर उनीमाथि राज्यविरुद्धको कसूरमा अनुसन्धान गर्न माग गरेका छन् ।
कर्णले  जिल्ला प्रहरी कार्यालय सप्तरीमा जाहेरी दिन खोज्दा लिन नमानेपछि हुलाक मार्फत जिल्ला प्रहरी कार्यालय रौतहटमा जाहेरी पठाएको बताए ।
उनले भने, ‘जिल्ला प्रहरी कार्यालय सप्तरीमा जाहेरी दिन जाँदा प्रहरीले घटना रौतहटको रहेकाले यहाँ दर्ता नहुने बताए । त्यसपछि आज नै हुलाक मार्फत जाहेरी पठाएको छु ।’
कर्णले बिहीबार नै सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतममार्फत् प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र पनि पठाएका छन् ।