प्राइम खबर संबाददाता | माघ १३, २०७८ बिहिबार

रौतहटमा फरक फरक सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ । विभिन्न दुई सवारी दुर्घटनामा परी रौतहटका तीन जनाको मृत्यु भएको हो । मोटरसाइकल दुर्घटनामा परी दुई जना र ट्रयाक्टर दुर्घटनामा एक बालकको मृत्यु भएको प्रहरीले जनाएको छ । 
रौतहटको गरुडा नगरपालिका ४ मा  मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा गढीमाई नगरपालिका वडा नम्बर ८ वरियारपुरका १९ वर्षीय महम्मद अल्ताफ र २५ वर्षीय रबि साहको मृत्यु भएको प्रहरीले जनाएको छ ।  ना ६२ प ३३९९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा गम्भीर घाइते भएका दुवै जनालाई उपचारको लागि अस्पताल लैजादा अस्पतालले मृतक घोषित गरेको  इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।
यस्तै,  जिल्लाको फतुवा विजयपुर नगरपालिका वडा नम्बर ९ मा ट्रयाक्टरले किचेर एक बालकको मृत्यु भएको छ । नयाँ ट्रयाक्टर किनेर ल्याएका  ट्रयाक्टर धनी मनोज यादव स्वयं आफैले चलाउन खोज्दा आफ्नै भाई सनोज यादवका ४ वर्षीय छोरा यश यादवको ट्रयाक्टरले किचेर मृत्यु भएको हो । 
 भतिजको आफैँले चलाएको सवारीले मृत्यु भएपछि मनोज फरार भएका छन्। फरार यादवको खोजी भइरहेको इलाका प्रहरी कार्यालय विजयपुरले जनाएको छ ।