प्राइम खबर संबाददाता | माघ १३, २०७८ बिहिबार
राष्ट्रियसभा निर्वाचनअन्तर्गत गण्डकी प्रदेशमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । बुधबार तीन पदका लागि भएको निर्वाचनमा तीनै जना गठबन्धनका उम्मेदवार विजयी भएका हुन् ।
गठबन्धनका उम्मेदवार महिलातर्फ कांग्रेस नेतृ कमला पन्त, माओवादी नेताद्वय सुरेश आले र भुवन सुनार निर्वाचित भएका छन्। पन्तलाई स्थानीय तहबाट ९४ मत (१६९२ मतभार) र प्रदेशसभा सदस्यबाट २९ मत (१३९२ मतभार) प्राप्त भएको छ । उनका प्रतिद्वन्द्वी एमालेकी लीला पोखरेल थनेतले स्थानीय तहबाट ७४ मत (१३३२ मतभार) र प्रदेशसभा सदस्यको २९ मत (१३९२ मतभार) पाइन् ।
यसै बिच पाँच दलीय गठबन्धन बनाएर गण्डकी र केन्द्रमा समेत सरकार बनाएका गठबन्धनका सांसद केही सांसदले आफ्ना उम्मेदवारलाई मतदान नगरी विपक्षमा मतदान गरेको भेटिएको छ।
गठबन्धनका सात मतदाताले एमाले उम्मेद्वार लीला थनेतलाई मत हालेका छन् । गण्डकीमा गठबन्धनसँग स्थानीय तहका प्रमुख/उपप्रमुख गरेर ९९ जना थिए । पन्तले ९४ जनाको मत पाएकी छन् ।
एमालेसँग स्थानीय तहका ६९ जनप्रतिनिधि रहेकोमा थनेतले ७४ जनाको मत पाएकी हुन् ।
त्यसबाहेक गठबन्धनकै दुई सांसदको पनि मत एमाले उम्मेद्वारलाई गएको छ । गण्डकी प्रदेशसभाका ५९ सांसदमध्ये गठबन्धनसँग ३१ र एमालेसँग २७ सांसद छन् ।
महिला क्लस्टरको मतपरिणामअनुसार दुवै उम्मेद्वारले समान २९/२९ जनाको मत पाएका छन् । एउटा मतपत्र खाली भेटिएको छ । एमाले उम्मेद्वार थनेतले कुल २७ सय २४ मत ल्याएकी छन् ।