प्राइम खबर संबाददाता | पुस १२, २०७८ सोमबार

नेपाली कांग्रेस प्रदेश नं.२ को प्रदेश सदस्य पदमा कनिष्ठ उम्मेदवार नितेश कुमार गुप्ता विजयी भएका छन् ।


गएको पौष ८ गते प्रदेश अधिवेशनमा भएको निर्वाचनमा युवा नेता गुप्ताले आफ्नो निकटतम प्रतिस्पर्धी उदय शंकर राउत लाई ४०० भन्दा बढी मतान्तरले उछिन्दै प्रदेश समिति सदस्य पदमा विजयी भएका छन् ।



नेपाली कांग्रेसको सक्रिय राजनीतिमा लागेका नेता गुप्ता आफू शारीरिक रूपले अपाङ्ग भएतापनि उनको राजनीतिमा निकै ठूलो चर्चा परिचर्चा चली नै रहन्छ । उनी रौतहट जिल्ला निवासी हुन् । रौतहट जिल्ला कै कृष्ण प्रसाद यादव प्रदेश सभापतिमा यस अघि नै विजयी घोषित भइसकेका छन् । नेता गुप्ता सभापति देउवा समुहबाट कृष्ण यादवको प्यानलमा सबैभन्दा कम उमेरका उम्मेदवार रहेका थिए ।

कांग्रेस प्रदेश अधिवेशनको निर्वाचनमा संस्थापन पक्ष प्यानल नै विजयी भएको छ । प्रदेश सदस्य पदमा नवनिर्वाचित गुप्ता आरक्षण कोटा अन्तर्गत अपाङ्ग/ अल्पसंख्यक कोटाबाट उम्मेदवार रहेका थिए । अधिवेशनमा नेता गुप्ता सँग प्रतिस्पर्धामा रहेका तीनजना अल्पसंख्यक उम्मेदवारलाई पछि पार्दै विजयी भएको निर्वाचन समितिले जनाएको छ ।