प्राइम खबर संबाददाता | पुस ९, २०७८ शुक्रबार

नेपाली कांग्रेस प्रदेश नं २ को सभापतिमा कृष्ण प्रसाद यादव शानदार मतका साथ विजयी भएका छन् ।


बिहीबार भएको मतदानमा कुल एकहजार ८८१ मत खसेकोमा अन्तिम नतिजाअनुसार यादवले ९ सय ९६ मतसहित जित हासिल गरेका हुन् । सभापतिमा निर्वाचित भएका कृष्ण यादव  सभापति शेरबहादुर देउवा निकटका हुन् ।



सभापतिका अर्का उम्मेदवार राम सरोज यादव पराजित भएका छन् ।  राम सरोजले ८ सय ५५ मत पाएका छन् । उनी नेता विमलेन्द्र निधि समूह निकटका मानिन्छन् । सरोजलाई कांग्रेस नेता शेखर कोइराला लगायतको नेताहरुको समर्थन थियो ।



प्रदेश सरकारको मन्त्री समेत रहेका नेता राम सरोजलाई जिताउन निधिले ठूलो प्रयास र प्रचार–प्रसार गरेका थिए । तैपनि आफ्ना विश्वासपात्र मानिएका नेता जिताउन निधि असफल भएका छन् । कृष्ण यादव र रामसरोज यादव बीच १ सय ४१ मतको अन्तर रहेको छ ।

 भर्खरै सम्पन्न कांग्रेसको १४ औँ महाअधिवेशनमा पनि निधिको लज्जास्पद हार भएको थियो । पहिलो चरणमा सोचेको मत हासिल गर्न नसकेपछि  अन्तमा निधिले सभापति देउवालाई समर्थन गरेका थिए । केन्द्रमा खासै पकड देखाउन नसकेका निधि प्रदेशमा भने आफ्नो पकड देखाउन कम्मर कसेर लागेका भएता पनि उनको प्रयास निरर्थक बनेको छ ।

रामसरोजको समूहलाई शेखर कोइरालाको समेत समर्थन छ । शेखरले प्रदेश नं. २ मा सभापतिको उम्मेदवार पाउन नसकेपछि निधिका सभापतिका उम्मेदवार रामसरोजलाई समर्थन गरेका थिए । बिहीबार भएको प्रतिस्पर्धामा सभापतिका दुई उम्मेदवारमध्य कृष्ण यादवले ५१ प्रतिशत बढी मत ल्याउन सफल भएपछि उनी विजयी भएका हुन ।



जनकपुरको गोपाल धर्मशालामा प्रदेश नं २ को सभापति पदको लागि निर्वाचन भएको थियो ।

सभापतिमा विजयी भएका नेता कृष्ण यादवलाई गृह जिल्ला रौतहट लगायत प्रदेश नंबर दुईका विभिन्न जिल्लाहरूबाट बधाई तथा शुभकामना को ओइरो नै लागेको छ । पदाधिकारी सहित प्रदेश समिति सदस्यहरूको मतगणना जारी नै रहेको निर्वाचन समितिले जनाएको छ ।