प्राइम खबर संबाददाता | मंसिर २०, २०७८ सोमबार

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले कलम चुनाव चिह्नले एमालेको सूर्य चुनाव चिह्नलाई चुनौती दिने बताएका छन्।


एमाले नेतामा कलम चुनाव चिह्न देखेपछि पसिना आएको उनले बताए। नेकपा ९एस० निकट नेपाल खेलकुद महासंघ समाजवादी प्रदेश–१ ले आयोजना गरेको भेलालाई सोमबार सम्बोधन गर्दै नेपालले नेकपा एसमा जनलहर बढिरहेको बताए। ‘सूर्यमा ग्रहण लाग्यो,’ उनले भने, ‘यसलाई कलम चुनाव चिह्नले चुनौती दिन्छ।’



एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमकमा भएको कार्यक्रममा नेपालले आगामी चुनावबाट एमाले पतासाफ भएर जाने दाबी गरे। ‘सुदूरपश्चिममा नेकपा एस पहिलो नम्बरमा, दोस्रोमा माओवादी र तेस्रोमा कांग्रेस छ।

केपी ओलीको पार्टी खतम्,’ उनले भने, ‘प्रदेश–२ मा उपेन्द्र यादवजीको जनता समाजवादी पार्टी पहिलो र हाम्रो पार्टी दोस्रो छ। त्यहाँ पनि केपी ओलीको पार्टीको हरिबिजोग छ।’



एमालेमा व्यक्तिवाद हाबी हुँदै गएका कारण नयाँ पार्टी गठन गर्नुपर्ने बाध्यता आएको पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले बताए। ‘एमाले हामीले बनाएका हौँ। तर, ९औँ महाधिवेशनबाट एमालेको नेतृत्व गलत नेतृत्वको हातमा पुग्यो। व्यक्तिवाद र गुटवाद हाबी भयो।

नेतालाई बा भन्ने प्रवृत्ति आउन थाल्यो,’ नेपालले भने,‘सिद्धान्त परित्याग भयो। नेताको पूजा गर्नुपर्ने भयो। हुँदाहुँदै पिठ्युँमा ट्याटु बनाएर अध्यक्षको हस्ताक्षर चाहियो। त्यो पार्टीले बाटो बिरायो। त्यहाँ लोकतन्त्र छैन, परामर्श हुँदैन। चितवनमा कुम्भमेला देख्यौँ।त्यसपछि तमासा पनि देख्यौँ। एउटा व्यक्तिको हातमा सबै अधिकार दिइयो। त्यो पहिल्यै महसुस गरेर नयाँ पार्टी बनाएका हौँ।’

अध्यक्ष नेपालले शक्ति आर्जनका लागि आउँदो राष्ट्रिय सभाको निर्वाचनमा पाँच दल मिलेर चुनावमा प्रतिस्पर्धा गर्ने बताए। यस्तै, आगामी स्थानीय तह र आमचुनावमा पनि विचार मिल्नेसँग तालमेल गरेर अघि बढ्ने बताए।

उनले पार्टी निर्माणको छोटो समयमा पार्टीप्रति आकर्षण बढेको बताए । नेकपा (एस) ले न्याय र समानताको पक्षमा लड्ने नेपालको भनाइ थियो।