प्राइम खबर संबाददाता | मंसिर १८, २०७८ शनिबार

नेपाली काँग्रेस प्रदेश २ को सभापतिमा रौतहटका कृष्णा प्रसाद यादवले उमेदवारी दिने भएका छन् ।


  पत्रकार सम्मेलनको आयोजना गर्दै रौतहटका जिल्ला सभापति समेत रहेका यादवले देउवा समुहबाट आफु उम्मेदवारी दिने घोषणा गरेका हुन् । प्रदेश सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका यादव आफु शेरबहादुर देउवाको समुहबाट सर्वसम्मत रुपमा उम्मेदवारी दिन लागेको बताउँछन् ।



   प्रदेश सभापतिका आकांक्षी यादवले महोत्तरीका जिल्ला सभापति महेन्द्र यादव, सप्तरीका सभापति दिनेश यादव, र रौतहटका सभापतिसँग सहमतीको आधारमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । यद्यपी उम्मेदवारी घोषणा गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा सप्तरीका सभापति अनुपस्थित थिए ।

सप्तरीका सभापति जनकपुरधाम के कति कारण आउन नसकेर पत्रकार सम्मेलनमा सहभागि हुन नसकेको सो कुरा जानकारीमा आएको छैन एक नेताले बताए । उम्मेदवारी घोषणामा महोत्तरीका सभापति, प्रदेश २ का निर्वाचन संयोजक रमेश रिजाल, आनन्द ढुंगाना, महेन्द्र यादव, चित्रलेखा यादवको उपस्थितिमा कृष्णा यादवले उम्मेदवारी दिने घोषणा गरेका हुन् ।



 नेता रिजालले पौडेल पक्षलाई समेत समेटने प्रयास भइरहेको बताए । कांग्रेस उपसभापति विमलेन्द्र निधि पक्षबाट प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री समेत रहेका रामसरोज यादवले आफु उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । प्रदेश सभापतिमा मन्त्री यादव र रौतहट सभापति कृष्णा यादव बीच चुनावी प्रतिस्पर्धा हुने अनुमान सहजै गर्न सकिन्छ ।

प्रदेश नम्बर २ का ८ जिल्लाहरू मध्ये क्षेत्रीय अधिवेशन सम्पन्न भैसकेको जिल्लाहरूको आंकडा हेर्दा मन्त्री यादवको भन्दा कृष्णा यादवको पल्ला भारी रहेको कांग्रेस नेता कार्यकर्ताहरु बताउँछन्।