प्राइम खबर संबाददाता | मंसिर ६, २०७८ सोमबार

रौतहट क्षेत्र नम्बर ३ का निलम्बित सांसद एबम् नव प्रबेशी एमाले नेता प्रभु साहलाई नेकपा एमालेले आसन्न १० औँ महाधिवेशनको लागि जन परिचालन समितिको सह संयोजकमा सीमित गरेको छ ।


तत्कालीन नेकपा कायम रहँदा प्रदेश नंबर २ को अध्यक्ष समेतको जिम्मेवारी पाएका नेता साह एमाले प्रवेश सँगै साँघुरो घेरामा खुम्चिनु परेको छ । अध्यक्ष ओली नेतृत्वको एमालेले नेता साहलाई एमालेमा खासै ठूलो हैसियत नदिएको कारण उनको पछिल्लो गतिविधिको कारण हुनसक्ने जानकारहरु बताउँछन् ।



नेता साह आफू अनुकूल फरक फरक अभिव्यक्ति दिने गरेका कारण उनीप्रति एमालेले खासै विश्वास नगरेको हुनसक्ने श्रोतको भनाई रहेको छ । पछिल्लो केही साता अघि नेता साहले रौतहटको गुजरा नगरपालिका अन्तर्गत धनसर – जंगल सहिया सडक खण्डको धन्सार मा रहेको नवनिर्मित प्रवेश द्वारको उद्घाटनका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै आफू एमालेमा पनि नरहेको र माओवादी पार्टीमा समेत नभएको भन्ने अभिव्यक्ति दिएका थिए । निलम्बित सांसद साहले रौतहट लगायत छिमेकी जिल्लाहरुमा समेत आई टी आर्मी नामक संगठनको प्रचार प्रसार एबम् विस्तारमा लागेका थिए ।

 किसान आन्दोलनका नाममा जुलुस निकाल्ने त कहिले आई टी आर्मी को नाममा मार्चपास जुलुस निकाली आफ्नो राजनीतिमा प्रभाव खोज्न लागिपरेका नेता साह पछिल्लो समय एमालेमा नै खुलेर लाग्नुपरेको देखिएको छ । सांसद पदबाट निलम्बनमा परे पश्चात आफ्नो कार्यक्रमममा एमालेको चुनाव चिन्ह सूर्य चिन्ह अंकित झण्डाको प्रयोग  यसअघि नगरेका साह केही साता अघि चितवनमा भएको नेकपा एमालेको कार्यक्रममा सहभागिता जनाए  पश्चात भने एमालेमा खुलेर लागेका हुन् ।



यद्यपि नेकपा एमालेले पनि नेता साहलाई त्यति ठूलो विश्वास गर्न नसकेको हुँदा पार्टीमा समेत कुनै महत्वपूर्ण जिम्मेवारी एबम् पद नदिएको हुनसक्ने राजनीतिक विश्लेषकहरुको बुझाइ रहेको छ । 

एमाले प्रवेश गरेका नेता साह नेकपा माओवादी पार्टीमा रहँदा उनी माओवादी कोटाबाट पटक पटक मन्त्री बन्दै आएका हुन् । पछिल्लो समय देशको राजनीतिमा नयाँ तरंग पैदा भएसँगै विघठित संसद् पुनर्स्थापना भयो, तत्कालीन अवस्थामा मन्त्री पदमा रहेका नेता साहको मन्त्री सँगै सांसद पद समेत खुस्किएपछि उनीलाई ठूलो झड्का लागेको थियो । 

अहिले नेता साहलाई महाधिवेशनको जनपरिचालन समितिको सह संयोजकमा रहेर जनपरिचालनको तयारीमा लाग्न नेकपा एमालेले जिम्मेवारी दिएको छ ।